गोहीको आक्रमणबाट एक युवकको मृत्यु

11

चितवनको सौराहा नजिक चित्रसारीस्थित बुढीराप्ती खोलामा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–८ का २७ वर्षीय अविषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार अविषेक बिहीबार राति माछा मार्न गएका बेला गोहीले आक्रमण गरेर खोलातिर तानेको थियो । उनीसँगै सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी पनि माछा मार्न गएका थिए । घटना राति करिब ९ बजे भएको बताइएको छ ।

राजकुमार माझीले राति ९ बजेर ३५ मिनेटतिर अस्थायी प्रहरी पोस्ट मैनाहालाई खबर गरेपछि प्रहरीको टोली तुरुन्तै खोजी तथा उद्धारमा खटिएको थियो ।

चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार राति १ बजेर २० मिनेटतिर घटनास्थलभन्दा करिब २०० मिटर उत्तरतर्फ अविषेकको शव फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रका खोलामा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल प्रायः माछामात्र खाने र शान्त स्वभावका हुन्छन् भने मगर गोही निकै आक्रामक र ज्यानै लिने खालका हुने जनाइएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

समन्धित समाचार