काठमाडौं ।
एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को बढ्दो प्रयोगसँगै विश्वका ठूला प्रविधि कम्पनीहरूले आफ्नो जनशक्ति कटौती गर्ने क्रम बढाएका छन्। यसै सन्दर्भमा माइक्रोसफ्टले पछिल्ला केही महिनामा गरेको तेस्रो ठूलो छँटनीको घोषणा गरेको छ, जसअनुसार करिब ९ हजार कर्मचारीले रोजगारी गुमाउने भएका छन्।
माइक्रोसफ्टका प्रवक्ताका अनुसार, यो छँटनीले कम्पनीको कुल कार्यबलको ४ प्रतिशतभन्दा कम मात्र कर्मचारीलाई असर पार्नेछ। तथापि संख्यात्मक हिसाबले हेर्दा यो करिब ९ हजार कर्मचारी हुने अनुमान गरिएको छ।
यो कदम कम्पनीको सन् २०२३ मा १० हजार कर्मचारी हटाएपछि अहिलेसम्मकै सबैभन्दा ठूलो छँटनी हो। यसअघि मे महिनामा पनि करिब ७ हजार (३ प्रतिशत) कर्मचारी हटाइएको थियो।
एआई प्रविधिमा अर्बौंको लगानी
माइक्रोसफ्टले पछिल्लो समय एआई प्रविधिमा आक्रामक रूपमा लगानी गरिरहेको छ। कार्यकारी प्रमुख सत्य नडेलाले यसै वर्षको सुरुवातमा भनेका थिए कि अहिले कम्पनीको करिब २० प्रतिशतदेखि ३० प्रतिशत कोड एआई मार्फत निर्माण भइरहेको छ। कम्पनीले एआई पूर्वाधारमा अर्बौं डलरको लगानी गर्दै आएको छ।
यसले कम्पनीको दक्षता वृद्धि गरे पनि पारम्परिक रूपमा कार्यरत कर्मचारीहरूलाई भने रोजगारी गुमाउने अवस्थासम्म पुर्याइरहेको छ।
व्यवस्थापनमा पुनर्संरचना र नयाँ रणनीति
माइक्रोसफ्टका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्,
“हामी कम्पनी र टिमहरूलाई चलायमान बजारमा अझ प्रतिस्पर्धी बनाउन आवश्यक सङ्गठनात्मक परिवर्तनहरू कार्यान्वयन गर्दैछौँ। यसक्रममा प्रवन्धकीय तह घटाउँदै र नयाँ प्रविधिहरू प्रयोग गरी कर्मचारीहरूलाई अझ उत्पादक बनाउने प्रयास भइरहेको छ।”
सेयर मूल्यमा खासै असर परेन
यस्तो ठूलो स्तरको छँटनीको घोषणा भए तापनि माइक्रोसफ्टको सेयर मूल्यमा खासै उतारचढाव आएको छैन। विश्लेषकहरूका अनुसार लगानीकर्ताहरूले कम्पनीको दीर्घकालीन रणनीति र एआईमा भइरहेको लगानीलाई सकारात्मक रूपमा लिइरहेका छन्।
कति कर्मचारी छन् अहिले ?
सन् २०२४ जुलाईसम्मको अन्तिम सार्वजनिक तथ्यांकअनुसार माइक्रोसफ्टमा २ लाख २८ हजार कर्मचारी कार्यरत थिए। यो तेस्रो चरणको छँटनीपछि उक्त सङ्ख्या उल्लेख्य रूपमा घट्ने देखिएको छ।
प्रविधि क्षेत्रमा व्यापक छँटनी
एआई र अटोमेसनको तीव्र विकाससँगै अहिले प्रविधि क्षेत्रमा मात्र नभएर विभिन्न उद्योगहरूमा पनि यस्तै छँटनीका घटनाहरू देखिन थालेका छन्। यसले एकातर्फ कम्पनीहरूलाई लागत कम गर्ने र कार्यक्षमता बढाउने अवसर दिएको भए पनि अर्कोतर्फ लाखौँ मानिसहरू बेरोजगार बन्ने स्थितिमा पुगिरहेका छन्।