असारे झरीमा पनि मौलिक नेपाली खानाको स्वादमा रमाए पाहुना, भोजनलिपि स्वादको चौथो संस्करण सम्पन्न

bhojan 1536x1152 1

काठमाडौँ — नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजको संयुक्त आयोजनामा भएको भोजनलिपि स्वाद कार्यक्रमको चौथो संस्करण असारे झरीका बीच भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका आकर्षणमध्ये एक अन्तरराष्ट्रिय स्वादका अध्येता सेफ कँडेल रहनुभएको थियो। उहाँले नेपालमा दक्ष सेफ जनशक्तिको अभाव रहेको बताउँदै अहिले पनि कतिपय रेष्टुरेन्ट र होटलहरूमा तालिमप्राप्त सेफको कमी खड्किएकाले यस्तो अभियानले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, चौथो संस्करणमा राजनीति, समाजसेवी, सञ्चारजगतलगायत क्षेत्रको प्रतिनिधित्वले कार्यक्रम थप ऊर्जा प्राप्त भएको उहाँले बताउनुभयो।

सिलौटो कटेजका सञ्चालक मिन भण्डारीले असारे झरीका बाबजुद धेरै पाहुनाहरूको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए। उहाँले किसानले उत्पादन गरेका सामग्री ल्याएर मौलिक परिकार बनाएर खानाको प्रवर्द्धन गर्दै आएको र भविष्यमा पनि भोजनलिपि स्वाद अभियानसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

भण्डारीका अनुसार सिलौटोले रैथाने स्वादको सुनिश्चितताका लागि सिलौटोमै पिँधिएको अचार, लोकल खसीको मासु, आगोमा कसौँडीमा पकाइएको पक्कु, माछा पोखरीबाटै ल्याएर पकाउने र मसला आफैँ पिस्ने परम्परा कायम राखेको छ।

नेपाली खाना प्रवर्द्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले चौथो संस्करणसम्म आइपुग्दा कार्यक्रम प्रभावकारी भएको र परिकारको स्वाद र गुणस्तरमा समेत सुधार आएको बताउनुभयो। उहाँका अनुसार अब यस अभियानलाई स्वदेशमै मात्र नभई विदेशमा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ।

यस चौथो संस्करणमा विभिन्न जिल्लाबाट उत्पादित कृषिउपजबाट बनेका १५ प्रकारका मौलिक नेपाली परिकारहरू राखिएको थियो। नेपाली साङ्गीतिक धुनबीच पाहुनाहरूले ती परिकारहरूको स्वाद लिने अवसर पाए।

भोजनलिपि स्वाद कार्यक्रमअन्तर्गत अहिलेसम्म तीनवटा संस्करण सम्पन्न भइसकेका छन् र हालसम्म करिब ४० जिल्लाका कृषिउपजबाट बनेका परिकारहरू प्रस्तुत भइसकेका छन्। अब अभियानले क्रमशः ७७ वटै जिल्लाका कृषिउपज समेट्ने लक्ष्य राखेको छ।

अन्तरराष्ट्रिय स्वादका अध्येता सेफ कँडेलले हालै पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशित गरिसक्नुभएको र सेफ खड्कासँग सहलेखनमा भोजनलिपि ‘कुकबुक’ समेत प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाली पाककला क्षेत्रका ख्यातिप्राप्त सेफ गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे र नयाँ पुस्ताका सेफहरू पूर्ण श्रेष्ठ, इङ्वा सुब्बा आदिसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

समन्धित समाचार