चितवन — विद्यालयको लापरबाही र विषय शिक्षकको जिम्मेवारीहीनता कारण २४ जना विद्यार्थीको भविष्यमा गम्भीर असर परेको छ। कम्प्युटर विषयको मूल्याङ्कनमा भएको त्रुटिका कारण उनीहरूको समग्र ग्रेड प्वाइन्ट एभरेज (जिपिए) घट्दा छात्रवृत्ति पाउने अवसर गुम्नुका साथै राम्रो क्याम्पसमा निःशुल्क पढ्न समेत कठिन भएको छ।
विद्यालयकी एक शिक्षिकाले जानकारी दिँदै भनिन्, “तर न त विषय शिक्षकले जिम्मेवारीपूर्वक अंक दिए, न विद्यालय प्रशासनले त्यसको प्रमाणीकरणमा ध्यान दिए। ख्यालख्यालमै २४ जना विद्यार्थीको भविष्यमाथि खेलवाड भयो।”
प्राप्त विवरण अनुसार कम्प्युटर विषय पढाउँदै आएका शिक्षक राजकुमार श्रेष्ठ अन्यत्र गएको कारण शैक्षिक सत्रको मध्यतिर मात्र प्रकाश श्रेष्ठ नामका नयाँ शिक्षकलाई उक्त विषय अध्यापन गराउने जिम्मेवारी दिइएको थियो। तर नयाँ शिक्षकले पनि विषयको मूल्याङ्कन प्रक्रिया र प्रणालीबारे आवश्यक जानकारी नलिईकन अंक दिनाले समस्या गहिरिएको अभिभावकहरूले बताएका छन्।
विद्यालय प्रशासनले पनि समयमै त्यसको प्रमाणीकरण नगरेकोले त्रुटि सुधार्ने मौका समेत छुटेको छ। यस लापरवाहीले विद्यार्थीहरूको समग्र जिपिएमा प्रतिकूल असर पार्दा उनीहरू उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक अवसरहरूबाट वञ्चित हुने अवस्थामा पुगेका छन्।
विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले विद्यालय र शिक्षक दुवै पक्षको गल्ती स्वीकार गर्दै भने, “हामीले भएका कमजोरी सुधार्नका लागि विद्यार्थीहरूको पुनरावलोकन प्रक्रिया थालिसकेका छौँ। छिट्टै सुधारिएको जिपिए आएर समस्या समाधान हुन्छ भन्ने विश्वास छ।”
तर अभिभावकहरू भने यस घटनाले आफूहरूमा गहिरो चिन्ता पैदा गरेको बताउँछन्। “छोराछोरीले यत्तिका मेहनत गरेर पढेको कुरामा यत्तिको लापरवाही हुनु निकै दुःखद हो,” एक अभिभावकले भने।
अभिभावकहरूले शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयलाई यस्ता घटनालाई गम्भीर रूपमा लिएर तुरुन्तै पुनरावलोकन प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनीहरूले आगामी दिनमा यस्ता लापरवाही नदोहर्याउन विद्यालय प्रशासनलाई समेत सचेत गराएका छन्।