सिरियाको राजधानी दमास्कसमा अवस्थित एक चर्चमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको र अन्य ६३ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार साँझको प्रार्थनाको क्रममा ड्वेइला क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियासमा एक व्यक्ति बन्दुकसहित प्रवेश गरी गोलाबारी गर्दै आफूले लगाएको विस्फोटक ज्याकेट विस्फोट गराएको गृह मन्त्रालयले जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार उक्त आक्रमणकारी इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेको बताइएको छ ।
यद्यपि हालसम्म आईएसले यस आक्रमणको जिम्मा भने लिएको छैन। चर्चभित्रबाट लिइएका तस्बिर र भिडियोमा अल्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको, सिसाका टुक्रा चारैतिर फैलिएको र भित्तामा रगतका छिटाहरू देखिएका छन्।
बशर अल–असदको सरकार इस्लामवादी विद्रोहीहरूले डिसेम्बरमा सत्ताच्युत गरेपछि १३ वर्ष लामो गृहयुद्धको अन्त्य भएको थियो। त्यसयता दमास्कसमा भएको यो पहिलो आत्मघाती आक्रमण हो।