एयर इन्डिया विमान दुर्घटना: सय जनाको शव निकालियो

16

एयर इन्डियाको बोइङ-७८७ विमान अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ ।

टेकअफ गरेको दुई मिनेटमै खसेको विमान दुर्घटनास्थलबाट अहिलेसम्म करिब १०० जनाको शव निकालिएको छ । दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलगायत उड्यनमन्त्री राममोहन नायडू दिल्लीबाट अहमदाबादतर्फ प्रस्थान गरेका छन ।

अहमदाबादबाट लन्डनको गेटविकका लागि उडेको एयर इन्डियाको बोइङ-७८७ विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा १० जना चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको एयर इन्डियाले जनाएको छ । भारतीय सञ्चारमाध्यमअनुसार विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार थिए ।

दुर्घटनापछि आगलागी भई विमान पूर्ण रूपमा जलेर नष्ट भएको छ । शवहरू अत्यधिक जलेको अवस्थामा भेटिएकाले पहिचानमा कठिनाइ भएको बताइएको छ ।

समन्धित समाचार