गुल्मी । आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । देशभरका विभिन्न स्थानमा यो प्रकोप बढ्न थालेका बेला जिल्ला प्रशासन कार्यालय गुल्मीले भने जिल्लाबासीलाई सर्तक रहन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सुचना जारी गर्दै यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै सर्तकता अपनाउन समेत अपिल गरेको हो । गुल्मीको पश्चिम क्षेत्रका स्थानीय तहमा यो समस्या देखिएका कारण तत्काल सावधानी अपनाउन भन्दै प्रशासनले पहल थालेको हो ।
प्रकाशसनका अनुसार यसको असरले ‘सापु’ नामको रोग लाग्छ । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।
जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि समेत गुम्न सक्छ । चिकित्सकका अनुसार यो रोग निकै घातक सावित भइसकेको छ । खासमा साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै खतरनाक हुने गरेको पाइएको छ ।