प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै

6 1

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेमा अन्योल कायमै छ । विपक्षी दलहरूले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन । यस विषयमा दलहरूबिच पटक-पटक छलफल भएपनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । यदि बैठक नियमित रुपमा सञ्चालन भएमा आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

यसैगरी, सम्भावित कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम छ । साथै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको अवरोधका कारण पछिल्ला दिनहरूमा संसद्को बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्दा महत्त्वपूर्ण विधेयक तथा छलफलहरू प्रभावित भएका छन् ।

समन्धित समाचार