गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपश्चात पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणालगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
राप्रपाका महामन्त्री राणा, वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुरसमेतमा प्रतिवादी बनाइएको छ । अन्य ११ जनालाई आपराधिक उपद्रवमा मुद्दा दायर गरिएको छ । तीमध्ये प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा पनि प्रतिवादी बनाइएको ।
वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा पनि प्रतिवादी बनाएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले आह्वान गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी घर, व्यवसायस्थल र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।