सबै प्रकारको प्रतिगमन रोक्ने अभियानको अग्रभागमा एमाले रहने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

WhatsApp Image 2025 05 23 at 3.41.23 PM 1536x1024 1

२०८२ जेठ ९, पोखरा

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार तथा मुलुकको स्वाधीनता जोगाउन सबै प्रकारका प्रतिगमन प्रयासहरूविरुद्ध एमाले अग्रपङ्क्तिमा रहने दाबी गर्नुभएको छ।

पोखरामा आयोजित राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय राजतन्त्र फर्कने कुरा व्यापक रूपमा प्रचार हुन थालेको विषयमा तीव्र असन्तुष्टि जनाउँदै भन्नुभयो, “पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्किन्छ भन्ने हल्ला गरिँदैछ। तर पूर्व राजाको कुण्डली हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ। नेपाली जनताले राजतन्त्र फालिसकेका छन्। अब त्यो फर्किने कल्पनासमेत नगरौं।”

उहाँले प्रष्ट पार्नुभयो कि प्रतिगमनको जुनसुकै प्रयासलाई एमालेले सशक्त ढंगले परास्त गर्नेछ। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर तयारी गरिएको भन्ने हल्ला पनि सुनिन्छ। यस्ता प्रतिगमनका कुचेष्टाहरूलाई हामी धुलो-पिठो बनाउनेछौं। त्यसका विरुद्ध युवा संघ अग्रभागमा आउनुपर्छ।”

प्रधानमन्त्री ओलीले पार्टी एमालेमाथि आन्तरिक र बाह्य शक्तिहरूद्वारा चौतर्फी आक्रमण भइरहेको बताए पनि एमालेले जनताको माया र समर्थनकै कारण अहिलेको स्थानमा आइपुगेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हौं। हाम्रो पार्टीको आलोचना गर्दा झोले भन्ने हहतोत्साहित गरिन्छ, तर हामी भ्रममा नपरी राष्ट्रको सेवा गर्नेछौं।”

प्रधानमन्त्री ओलीले मुलुकको अस्थिरताका कारण गलत हातमा राजनीति जाँदा भएको बताउँदै स्थिरता र सुशासनका लागि एमाले र काँग्रेस मिलेर सरकार बनाएको उल्लेख गर्नुभयो। उहाँले आगामी १४ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद सुम्पेर निर्वाचनमा जाने सहमति अनुरूप काम भइरहेको स्पष्ट गर्नुभयो।

भ्रष्टाचारविरुद्ध आफूहरू शून्य सहनशीलताका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले कसैको अनुहार नहेरी कानूनअनुसार कारबाही भइरहेको पनि बताउनुभयो।

कार्यक्रममा युवा संघका प्रतिनिधिहरूलाई सन्देश दिँदै अध्यक्ष ओलीले नेतृत्वका लागि लुँछाचुँडी नगरी सहमति भए सर्वसम्मति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो।

उक्त महाधिवेशनमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायतको उपस्थिति रहेको थियो।

समन्धित समाचार