९ जेठ, जनकपुरधाम
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश अन्तर्गत नेपाल–भारत सीमाक्षेत्रमा भइरहेका आपराधिक गतिविधि, चोरी–तस्करी तथा सामाजिक विकृतिहरू नियन्त्रणमा ल्याउन सम्बद्ध सुरक्षा निकायलाई कडाइका साथ निर्देशन दिनुभएको छ।
शुक्रबार जनकपुरधाममा नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले सीमावर्ती क्षेत्रमा खुला सिमानाका कारण विविध सुरक्षा चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो।
उहाँले भन्नुभयो, “देशमा हाल लागुऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या तथा साइबर अपराधजस्ता गम्भीर सामाजिक समस्या बढ्दै छन्। मधेश प्रदेशका सबै जिल्लाहरू भारतसँग जोडिएका छन्, त्यसैले यहाँ थप सतर्कता आवश्यक छ।”
उहाँले सुरक्षाको सवालमा सुरक्षा निकायहरू इमान्दारिताका साथ बदलिँदो चुनौतीलाई आत्मसात् गर्दै कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूलाई कानुनविपरीत कुनै पनि आर्थिक लोभ र प्रभावमा नपरी निष्पक्ष र छिटो सेवा प्रवाह गर्न आग्रह गर्दै राज्यको नाममा गरिने सेवामा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो।
गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षा कायम गर्न समस्या भइरहेको बताउनुभयो। उहाँले सीमित स्रोत साधनबीच पनि प्रदेश सरकारले सुरक्षा निकायलाई सक्दो सहयोग गरिरहेको जानकारी दिँदै संघीय सरकारलाई प्रहरी समायोजनको प्रक्रिया शीघ्र अगाडि बढाउन अनुरोध गर्नुभयो।
त्यसैगरी मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले छिमेकी देश भारतमा देखिएको द्वन्द्व र असमझदारीको प्रभाव सीमाक्षेत्रमा पर्न सक्ने भन्दै नेपाली सुरक्षा निकायलाई सतर्क र सचेत रहन निर्देशन दिनुभयो।
उक्त गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुखहरू, साथै आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
गोष्ठीको उद्देश्य सीमाक्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन रणनीतिक छलफल तथा सहकार्यलाई मजबुत पार्नु रहेको थियो।