चितवनमा अवैध रूपमा मोडिफाई गरिएका ४३ मोटरसाइकल नियन्त्रणमा, ट्राफिक नियम उल्लंघनमा कारबाही

IMG 4948 1536x864 1

चितवनमा प्रहरीले स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ४३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत प्रहरी टोलीको संयुक्त सक्रियतामा ती मोटरसाइकलहरू नियन्त्रणमा लिइएका हुन्।

प्रहरीका अनुसार ती मोटरसाइकलहरू विभिन्न कम्पनीबाट उत्पादन भई बजारमा बिक्री वितरणमा आइसकेका थिए। तर, सवारीधनी र चालकहरूले ती सवारीसाधनमा गैरकानुनी रूपमा परिवर्तन गरेका थिए। विशेषगरी ठूला आवाज निकाल्ने साइलेंसर, प्रेसर हर्न, हेन्डल र लाइटको संरचना परिवर्तन गरिएका थिए, जसले ध्वनि प्रदूषण बढाउनुका साथै सडक सुरक्षामा समेत प्रतिकूल असर पु¥याएको प्रहरीले जनाएको छ।

प्रहरीको भनाइ

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाका अनुसार, “यी सवारीसाधनहरूलाई नियन्त्रणमा लिएर पुनः पूर्वावस्थामा फर्काउन लगाइएको छ। साथै, ती सवारी चालकहरूलाई ट्राफिक नियमबारे सचेतनामूलक कक्षा सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना तिराएर छाडिएको छ।”

निगरानी र कारबाही तीव्र

प्रहरीले यस्ता अवैध मोडिफिकेसनका गतिविधिमाथि निगरानी कडा बनाइएको र यस्ता कार्यलाई निरुत्साहित गर्न नियमित चेकजाँच र कारबाहीलाई तीव्र पारिएको जनाएको छ।

यस किसिमको चेकिङ अभियानले चितवनमा यातायात अनुशासन कायम राख्न र सडक दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ।

समन्धित समाचार