दाहसंस्कार गर्न लगिएको ६ वर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु

ghat pashupati 6 Fxo7zkmyxW

संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङ निवासी ६ वर्षीय युनिका तामाङको शव दाहसंस्कारका लागि लगिँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घटनाप्रति शंका लागेपछि बालिकाको शव एम्बुलेन्सबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक (DSP) दक्षकुमार बस्नेत नेतृत्वको टोलीले बिहिबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट बालिकाको शव एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारी अनुसार, बैशाख ३० गते घरायसी विवादका क्रममा युनिकाका जेठाजु गोपाल तामाङ र भाउजू कल्पना (गुरुङ) तामाङबीच झगडा भएको थियो। त्यस क्रममा कल्पनाले युनिकालाई धकेल्दा उनी डिलबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा मृत्यु

गम्भीर घाइते युनिकालाई पहिलो चरणमा जिल्ला अस्पताल संखुवासभा लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुँदा उनलाई नोबेल अस्पताल, विराटनगर पठाइएको थियो। अस्पतालमा उपचार भइरहेकै क्रममा जेठ ७ गते युनिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षण र अनुसन्धान जारी

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बालिकाको शव अहिले जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको छ। बालिकाको मृत्युको कारण शंकास्पद देखिएकोले शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको छ।

यसैबीच, प्रहरीले बालिकाकी भाउजू कल्पना तामाङलाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याइरहेको छ। मृतककी बुबा गोपाल तामाङलाई समेत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयस्तरमा चासो

छोरीको मृत्युका पछाडि घरेलु हिंसाको सम्भावित कारण देखिएको भन्दै स्थानीयबासीले घटना छानबिनमा पारदर्शिता र निष्पक्षता हुनुपर्ने माग गरेका छन्।

समन्धित समाचार