रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ स्थित लाङटाङ क्षेत्रको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना गरिने भएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा प्रतियोगिता जेठ २४ गते सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले लाङटाङ ट्रेल रनको उद्देश्य लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यको रूपमा विश्वसामु चिनाउने रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो दौड प्रतियोगिता मार्फत लाङटाङको अद्वितीय प्राकृतिक सौन्दर्य, संस्कृतिको विविधता र साहसिक यात्रा अनुभवलाई प्रवर्द्धन गर्न सकिनेछ।”
दौड प्रतियोगितामा स्वदेशी तथा विदेशी दौड प्रतिस्पर्धीहरूको सहभागिता रहनेछ। क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको चुनौतीपूर्ण पदमार्गमा आधारित यस प्रतियोगितामा महिला र पुरुष दुबै प्रतिस्पर्धीहरूलाई समान पुरस्कारको व्यवस्था गरिएको छ।
पुरस्कार विवरण यस्तो छ:
पहिलो स्थान: रु १,००,०००
दोश्रो स्थान: रु ७५,०००
तेश्रो स्थान: रु ५०,०००
चौथो स्थान: रु २५,०००
पाँचौं स्थान: रु १५,०००
पर्यटन व्यवसायीहरूका अनुसार, लाङटाङ ट्रेल रनले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटकीय पुनरुत्थानमा समेत योगदान दिनेछ। २०७२ सालको भूकम्पपछि प्रभावित बनेको लाङटाङ क्षेत्र पुनः पर्यटन नक्शामा ल्याउन यो कार्यक्रम एक सकारात्मक प्रयासको रूपमा हेरिएको छ।
प्रतियोगिता सफल बनाउनका लागि स्थानीय सरकार, पर्यटन व्यवसायी, होटल संघ, सुरक्षा निकाय तथा स्वयंसेवकहरूको सहकार्यमा आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएको छ।