काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले नेपाली समाजमा व्याप्त नकारात्मक सोच र धारणा देशको विकासका लागि बाधक रहेको बताउनु भएको छ। नेपाली जनसम्पर्क समिति, जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो सोचले न समाज बन्न सक्छ, न त देश।
मन्त्री डा. राणाले “केही हुँदैन”, “संभव छैन” भन्ने किसिमका नकारात्मक मानसिकता बनाइने र प्रचार गरिने प्रवृत्तिको आलोचना गर्दै भन्नुभयो, “समाजमा र देशमा राम्रा काम पनि भएका छन् तर तिनलाई राम्रो भनेर मूल्याङ्कन गरिँदैन। मिडियामा नराम्रो प्रचार गरेपछि मात्र चर्चामा आइन्छ भन्ने सोच हावी भएको छ, यसरी देश बन्दैन।”
उहाँले राजनीतिक दलहरूदेखि लिएर विदेशमा बस्ने नेपालीहरूसम्ममा यस्तो नकारात्मक दृष्टिकोण देखिएको भन्दै सबैले सकारात्मक सोचसँगै एकताको भावनाबाट देश निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो।
गैरआवासीय नेपालीहरूलाई आह्वान
डा. राणाले विश्वभर रहेका गैरआवासीय नेपाली (एनआरएन) हरूसँग ठूलो शक्ति रहेको उल्लेख गर्दै उहाँहरूलाई एकताबद्ध भएर नेपालको हितमा काम गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सानातिना कुरामा अल्झिनु हुँदैन, एउटै एनआरएनए बनाउन लाग्नुहोस्। तबमात्र अधिकारको लागि लड्न सकिने तागत बन्छ।”
उहाँका अनुसार सरकारले सर्वोच्च अदालतको परमादेश अनुसार हालै मात्र सम्पन्न एनआरएनए महाधिवेशनलाई सहजीकरण गरेको हो, र नयाँ कार्यसमिति आपसी सहमतिबाट चयन गरिएको स्पष्टिकरण समेत दिनुभयो।
विदेशी नेपालीहरूको सीप र पुँजी उपयोग गर्न आग्रह
परराष्ट्रमन्त्री डा. राणाले विदेशमा बस्ने नेपालीहरूबाट आर्जन गरिएको ज्ञान, सीप र पुँजीलाई नेपालको समग्र विकासमा लगाउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “संसारमा रहेका नेपाली डायस्पोराको योगदानबिना राष्ट्र निर्माण अपूर्ण रहन्छ।”
उहाँले परराष्ट्र मन्त्रालयमा नेपाली डायस्पोरासँग सम्बन्धित सेवा र आर्थिक कूटनीतिसम्बन्धी छुट्टै महाशाखा स्थापना गरिएको जानकारी पनि दिनुभयो र त्यस कार्यमा सम्पूर्ण नेपालीहरूको सहयोग अपेक्षित रहेको बताउनुभयो।