अमेरिकाको वासिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
लक्ष्मी प्रसाद भट्टराई, नेपाल टेलिभिजन
८ जेष्ठ २०८२, विहान १०:१० बजे
अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित यहूदी संग्रहालयबाहिर अज्ञात बन्दुकधारीद्वारा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ। बीबीसीका अनुसार मारिनेहरू एक पुरुष र एक महिला रहेको पुष्टि भएको छ।
स्रोतका अनुसार दुवै कर्मचारीहरू क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा लक्षित गरिएको थियो। स्थानीय समय अनुसार राति ९ बजे तिर उनीहरूलाई संग्रहालयको बाहिर गोली हानिएको थियो।
घटनाको समयमा संग्रहालयमा इजरायली दूतावासका धेरै कर्मचारीहरू उपस्थित थिए। अमेरिकी सुरक्षाकर्मीहरूका अनुसार तत्कालै उद्धार प्रयास गरिएको भए पनि ती दुवैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
इजरायलका संयुक्त राष्ट्र संघका लागि राजदूतले घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भन्दै निन्दा गरेका छन्। घटनापछि वासिङ्टन डीसीमा व्यापक सुरक्षाका उपायहरू अपनाइएका छन्। ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ भने संग्रहालय वरपरका मुख्य सडकहरू अस्थायी रूपमा बन्द गरिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पीडितहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन। इजरायली दूतावासका प्रवक्ताले संग्रहालयको कार्यक्रममा सहभागी हुँदै गरेका दुई कर्मचारीलाई संग्रहालय नजिकै गोली हानेर हत्या गरिएको पुष्टि गरेका छन्।
अमेरिकी सञ्चार संस्थाहरूले इजरायली राजदूत घटनाको समयमा संग्रहालयमा उपस्थित नरहेको बताएका छन्। घटनाबारे विस्तृत अनुसन्धान FBI र स्थानीय प्रहरीद्वारा सुरु गरिएको छ।