सर्वोच्चलाई गगन थापाको लिखित जवाफ

06

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार सर्वोच्च अदालत समक्ष लिखित जबाफ पेस गरेका छन् ।

अदालतको अवहेलना गरेको भन्ने मुद्दामा थापालाई सर्वोच्चले लिखित जबाफ माग गरेको थियो।बुधबार अधिवक्ता अमृतकुमार केसीमार्फत लिखित जबाफ पठाउँदै थापाले भनेका छन्, ‘अदालत प्रतिको जनआस्था तथा विश्वसनीयता कायम राख्ने दिशामा हामी सबै लाग्नु आवश्यक छ र त्यसको समाधान हामीले खोज्नुपर्छ भन्ने उद्देश्यबाट अभिप्रेरित भएर उक्त दिन दिएको अभिव्यक्तिबाट अदालतको अवहेलना हुन सक्दैन र हुनु पनि हुँदैन।’

गएको वैशाख ११ मा एउटा सार्वजनिक कार्यक्रममा थापाले संवैधानिक नियुक्तिबारे अदालतले गरेको ढिलाइप्रति असन्तोष प्रकट गरेका थिए। उनको अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापा उनी विरूद्ध अदालत गएका थिए ।

‘मैले व्यक्त गरेका विचार संविधानको भावना र मर्म अनुरुप राज्यका संस्थाहरू सबल बन्न सकुन् र न्यायिक जबाफदेहिताको सिद्धान्तलाई शिरोपर गरियोस् भन्ने अभिप्रायबाट व्यक्त गरिएका हुन् । पब्लिक इन्ट्रेस्टका लागि असल नियतले व्यक्त गरिएका यस्ता सत्य तथ्यले अदालतको अवहेलना हुँदैन । तसर्थ कुनै पनि विचार र अभिव्यक्तिले अदालतको छवि धूमिल बनाउने कार्य गरेको अवस्थामा मात्र अवहेलनाको कारबाही हुन सक्दछ । अन्यथा हुन सक्दैन,’ लिखित जवाफमा भनिएको छ, ‘त्यस अर्थमा मैले व्यक्त गरेको अभिव्यक्ति अदालतको न्याय सम्पादनको कार्यमा अवरोध गरेको वा आदेश वा फैसला अवज्ञा गरेको विषयसँग सम्बन्धित भई कुनै टिक्का टिप्पणी नगरेको प्रस्ट हुँदा मेरा विरुद्ध दायर भएको प्रस्तुत अवहेलनाको निवेदन सारतः खारेज भागी रहेको छ।

समन्धित समाचार