नेपाल महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित

nepal thailand vC2ZLLMZDZ


नेपाल महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौँ—
आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज सम्पन्न खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको चुनौती दिएको थियो। जवाफमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कवितार कुँवरले सर्वाधिक २४ रन बनाइन्। राजमति ऐरीले अविजित २० रन तथा कप्तान रूविना क्षेत्रीले १२ रनको योगदान दिइन्। अन्य खेलाडी भने दोहोरो अंकमा रन जोड्न असफल भए।

थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्। थिपाचा पुथावोङले ३ विकेट तथा सुलेपोर्न लाओमीले १ विकेट हात पारिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो। नन्नापत कोन्चारोएनकाईले २८ बलमा ८ चौकासहित अविजित ५० रन बनाइन् भने नटाया बुचथमले ४२ बलमा ५० रनको योगदान दिइन्। अपिसरा सुवान्चोराथीले २९ र नथ्थकन चन्थमले अविजित १५ रन बनाइन्।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान रूपमा १-१ विकेट लिइन्।

यद्यपि, नेपाल र थाइल्यान्ड दुबैले यसअघि युएईलाई हराउँदै आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन्।


समन्धित समाचार