काठमाडौँ, ४ जेठ २०८१ (May 18, 2025)
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापु राष्ट्रहरूमा देखा परेका समस्या उजागर गर्न सगरमाथा संवाद सफल भएको बताउनुभएको छ।
आइतबार काठमाडौंमा सम्पन्न तीनदिने सगरमाथा संवादको समापन सत्रमा बोल्दै मन्त्री देउवाले यो संवादले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीतिनिर्माता, विज्ञ, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तर्राष्ट्रिय संस्था र समुदायलाई एउटै मञ्चमा ल्याएर वास्तविक संवादको भावना स्थापित गरेको बताउनुभयो।
उहाँले भन्नुभयो:
“संवाद केवल कार्यक्रम होइन, विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव हो। सगरमाथाले जसरी अटल भएर हाम्रो दृढताको स्मरण गराउँछ, यस संवादका नतिजाहरूले पनि हामीलाई हाम्रो संकल्पको सम्झना गराओस्।”
संवादमा भएका छलफल र सुझावहरूलाई आगामी दिनमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिने जानकारी दिँदै मन्त्री राणाले विशेषतः यस महिनाको अन्त्यमा ताजकिस्तानमा आयोजना हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन, संयुक्त राष्ट्रसंघको ८०औं महासभा, र यस वर्ष ब्राजिलमा हुने कोप-३० (COP-30) जलवायु सम्मेलनमा पनि नेपालले यी विषयहरू उठाउने बताउनुभयो।
अन्त्यमा, उहाँले सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा आयोजना गरिने जानकारी समेत दिनुभयो।