काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सहभागी विदेशी अतिथिहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको छ। काठमाडौँमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई व्यक्तिगत रूपमा स्वागत गर्नुभएको थियो।
समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीहरू साथै विभिन्न मुलुकबाट आएका मन्त्री, नीतिनिर्माता, विज्ञहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार सगरमाथा संवादमा ३ दर्जनभन्दा बढी देशका १७५ जना विदेशी पाहुनाहरू सहभागी भएका छन्। संवादको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भइसकेको छ भने पूर्ण सत्र र समानान्तर सत्रहरू सञ्चालन भइरहेको छन्।
सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो जसको उद्देश्य जलवायु परिवर्तन, दिगो विकास, क्षेत्रीय सहयोग तथा समसामयिक विश्वव्यापी मुद्दाहरूमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्नु हो।
प्रधानमन्त्री ओलीद्वारा आयोजित रात्रिभोजले अतिथिहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा सौहार्दपूर्ण वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रममा भएका अनौपचारिक भेटघाट र संवादले सहभागीहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। सगरमाथा संवादका बाँकी सत्रहरू आगामी दुई दिनसम्म सञ्चालन हुने छन्।