२५६९ औँ बुद्धजयन्ती आज श्रद्धा र भक्तिपूर्वक नेपालमा मनाइँदै ।

Nepal Lumbini Buddha Birthplace Temple

२५६९ औँ बुद्धजयन्ती आज श्रद्धा र भक्तिपूर्वक नेपालमा मनाइँदै छ ।

काठमाडौं, वैशाख २९ – लक्ष्मी प्रसाद भट्टराई, नेपाल टेलिभिजन

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९ औँ जन्मजयन्ती आज देशभरका बौद्ध गुम्बा, विहार, चैत्य र घर–घरमा श्रद्धा र भक्तिपूर्वक पूजा, ध्यान, प्रवचन तथा शान्तिको सन्देश फैलाएर मनाइँदैछ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले बुद्धजयन्ती, त्रिसंयोग दिवसका रूपमा मनाउँछन्, किनभने यही दिन बुद्धको जन्म, ज्ञान प्राप्ति (बुद्धत्व)महापरिनिर्वाण (मृत्यु) भएको हो।

भगवान् बुद्धको जन्म लुम्बिनीमा शाक्य राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा भएको थियो। सिद्धार्थ गौतमका रूपमा जन्मनुभएका उहाँले २९ वर्षको उमेरमा राजसुख त्यागेर दुःख निवारणको खोजीमा तपस्याको मार्ग समात्नुभयो। दीर्घ साधनापछि बुद्धत्व प्राप्त गरी मानव समाजमा अहिंसा, मैत्री, करुणा र शान्तिको सन्देश दिन थाल्नुभयो।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने कालजयी वाणीका साथ बुद्धले विश्वभरि मानवतावादी चेतनाको विकास गर्न योगदान दिनुभयो। उहाँका उपदेशहरू आज पनि विश्वभरका करोडौं मानिसले जीवनमा अनुसरण गरिरहेका छन्।

नेपाललगायत भारत, श्रीलंका, भुटान, थाइल्याण्ड, कम्बोडिया, म्यानमार, चीन, जापान लगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरू आजको दिन विशेष श्रद्धा प्रकट गरी बुद्ध जयन्ती मनाउँछन्।

आजको दिन विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ, नमुबुद्ध, फर्पिङ, कपिलवस्तु, रामग्राम, जस्ता धार्मिक स्थलहरूमा विशेष कार्यक्रम आयोजना गरिएका छन्। गुम्बा र विहारहरूमा लामा गुरुहरूले पूजा, प्रार्थना, ध्यान, र प्रवचनमार्फत बुद्धको शिक्षालाई स्मरण गरिरहेका छन्।

नेपाल सरकारले पनि आजको दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेको छ। बुद्ध जयन्तीको अवसरमा विभिन्न विद्यालय, संघसंस्था, धर्मगुरु र सामाजिक अभियन्ताहरूले शान्तिपूर्ण कार्यक्रमको आयोजना गरी बुद्धका सन्देशलाई प्रचारप्रसार गरिरहेका छन्।

आजको दिन हामी सबैले भगवान् बुद्धका शान्तिपूर्ण सन्देशहरूलाई आत्मसात् गरी समाजमा सद्भाव, सहिष्णुता र करुणाको भावना विकास गर्न प्रेरणा लिने समय हो।


समन्धित समाचार