२१ वैशाख, काठमाडौं — दाङ जिल्लाको तुलसीपुरमा एक बोर्डिङ स्कुलका शिक्षकमाथि आफ्नै विद्यार्थीले खुँडाले आक्रमण गरेका छन्। घटनामा हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठ गम्भीर घाइते भएका छन्।
शुक्रबार बिहान करिब १०:३० बजे तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्कुल नजिकै कक्षा १२ मा अध्ययनरत छात्र सुरेश सुनारले शिक्षक श्रेष्ठमाथि खुँडाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दुई हात र बायाँ कुममा चोट
प्रहरीका अनुसार आक्रमणमा शिक्षकको बायाँ कुम र दुवै हातको पाखुरामा गहिरो चोट लागेको छ। घाइते शिक्षकको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
आरोपित विद्यार्थी पक्राउ
खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजे सुरेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। घटना किन घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।
“खुँडा प्रहारको वास्तविक कारण भने हालसम्म खुलेको छैन,” उनले भने, “अनुसन्धानपछि यथार्थ सार्वजनिक हुनेछ।”