काठमाडौं – आन्दोलनरत शिक्षक महासङ्घ र सरकारबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तका अनुसार हिजो राति भएको वार्ता रचनात्मक र परिणाममुखी भएको हो। मन्त्री पन्तले सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षकमहासंघसँगको वार्ता यथासम्भव छिटो टुंगोमा पुर्याउने प्रयास भइरहेको जानकारी दिनुभयो।
शिक्षामन्त्री र शिक्षक महासंघबीचको यो वार्ता हिजो राति ८ बजेदेखि साढे १० बजेसम्म शिक्षा मन्त्रालयमा सम्पन्न भएको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनु भएको थियो। शिक्षक महासंघतर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा टोलीले वार्तामा भाग लिएको थियो।
शिक्षक महासंघ र सरकारबीच आज पुनः निर्णायक वार्ता हुने तयारी गरिएको छ। शिक्षक संगठनहरूले आफ्नो पेशागत मागहरू राख्दै गत चैत २० गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को प्रारम्भदेखि नै पठनपाठन प्रभावित भइरहेको छ।
शिक्षकहरूको प्रमुख मागहरूमा पुराना शिक्षक सेवा संरचना कायम राख्नुपर्ने, शिक्षा क्षेत्रको पेशागत मर्यादा सुनिश्चित गर्नुपर्ने, संघीयता अनुसार शिक्षक व्यवस्थापनको स्पष्ट खाका ल्याउनुपर्ने लगायतका विषयहरू छन्। यिनै मागका विषयमा सरकार र शिक्षक महासंघबीच केही सहमति नजिक पुगेको चर्चा छ।
आजको वार्तालाई निर्णायक मानिँदैछ र दुबै पक्षबाट सहमति खोज्ने प्रयास भइरहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ