प्रधानमन्त्री ओलीको चेतावनी: ‘‘मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित गर्न सक्नुहुन्छ?’’


काठमाडौँ, १४ वैशाख
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुप्रति कडा प्रतिक्रिया जनाउँदै प्रमाण माग्नुभएको छ। काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको भनाइलाई अस्वीकार गर्दै यस्ता आरोपहरू प्रमाणित गर्न चुनौती दिनुभयो।

प्रधानमन्त्री ओलीले राजनीतिमा षड्यन्त्र, छिर्के दाउ र झेली खेलाडीहरुले लाजशरम विर्सेर झुट्टा आरोप लगाउने गरेको आरोप लगाउनुभयो। उहाँले देशमा स्थिरता, विकास र सुशासनले गति लिन थालेपछि सरकार र नेतृत्वलाई बदनाम गर्न नियोजित प्रयास भइरहेको टिप्पणी गर्नुभयो।

प्रधानमन्त्री ओलीको मुख्य भनाइहरू:

  • आरोप प्रमाणित गर्न चुनौती : “मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुलाई प्रमाणित गर्न चुनौती दिन्छु।”
  • झुठा आरोपको विरोध : “सरकारले केही नगरेको जस्ता भ्रम फैलाइँदैछ। हामी अपराधी होइनौं।”
  • निलो रंगका स्यालहरूको टिप्पणी : “आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन्, तर तिनको वास्तविक रुप टिक्दैन।”
  • एमालेको लक्ष्य : आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा विकास गर्ने लक्ष्य।
  • देउवा फर्किएपछि सरकार ढल्ने भ्रम चिर्दै : “शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्ने भ्रम फैलाउनेहरूको टाउकामा चिसो पानी खन्याइएको महसुस भयो।”

प्रधानमन्त्री ओलीले पार्टीभित्र एकताको चेत जरुरी रहेको भन्दै, आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत आवश्यक रहेको सुझाव पनि दिनुभयो। विरोधीका आरोपहरूको खण्डन गर्दै अघि बढ्नुपर्ने र पार्टीभित्र संघर्ष र विखण्डन होइन, एकताको भावना बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।