सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन्। पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ।
हिजो दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो। आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए।
मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति नदिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो।
तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार २४औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका थिए।