चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न

510 1

हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो ।

प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि ‘भूठान’ले नेपाली चलचित्रलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् ।

प्रिमियरमा पुगेका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छ कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने असाध्यै गम्भीर प्रश्नले उसको हृदय कतिसम्म हल्लाउँछ कथाको विषयवस्तु अनुसारले हरिवंशजी लगायत कलाकारहरूले उत्कृष्ट अभिनयको प्रस्तुतिले र सुन्दर निर्देशकीय पाटोले भुठान एक उत्कृष्ट फिल्म बनेको छ। सबैलाई हेर्नको निम्ति म आग्रह गर्दछु।’

यस्तै, साम्बाला निर्देशक मीनबहादुर भामले पनि फिल्म एकदमै रमाइलो लागेकाे प्रतिक्रिया दिए । ‘यो फिल्मको कथावस्तु यस्तो मर्मस्पर्शी सँगै प्राविधिक पक्ष पनि एकदमै राम्रो छ। र यो फिल्मको कलाकारहरूको काम एकदमै राम्रो छ। मलाई यो फिल्म एकदमै मनपर्यो। र निर्देशकको काम पनि एकदमै मनपर्यो।’ उनले भने ।

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले भने, ‘एकैचोटि यो फिल्मले चाहिँ धेरैको कथा बोल्छ भन्ने मलाई लाग्छ। देश छोडेर आफ्नो देशभन्दा बाहिर देश गुमाउनु परेकाहरूको पीडा भुटानी नागरिकहरूले जसरी बेहोर्नुभएको छ त्यस्तै दुनियामा अरु कयौँ ले बेहोर्नुभएको छ त्यो कथा बोल्छ र अहिले भर्खरै पनि भुटानबाट नेपाल आएर नेपालबाट शरणार्थी जीवन बिताएर अमेरिका गएर बसेका मान्छेलाई अमेरिकाले डिपोट गर्दै गर्दाको भर्खरकै कथा हामीले केही दिन अगाडि पढेका पनि छौँ। भोलि भुटान आइपुग्यो उनीहरू। सबै परिचय खोसियो। फेरि भारतको बाटो हुँदै नेपाल आइपुगे नेपालमा पनि फेरि गिरफ्तारीमा पुगे त्यो उनीहरुले भोगिरहेको पीडा छ त्यो उनीहरूको पीडा फिल्म मार्फतबाट जीवन्त प्रस्तुत गर्ने प्रयास गरिएको छ। यो कथाले साँच्चै हृदय छोएको छ ।’

यसैगरी गायिका आनी छोइङ डोल्माले भनिन्, ‘एकदमै राम्रो फिल्म बनेछ फिल्ममा यति धेरै कुरा छन् कि हाम्रा नेपालीहरूको जनमानसले यो फिल्मको स्वाद लिन सक्ला कि नसक्ला भन्ने मेरो चिन्ता छ यसको स्वाद लिन जान्यो भने यो फिल्मले धेरै कुराहरू प्रस्तुत गरेको छ अब हेर्ने मान्छेहरूको आफ्नो आफ्नो दृष्टिकोण मा भर पर्छ। कुन चाहिँ कुरा सिक्ने भन्नेमा म एक धर्मकर्ममा समावेश भएको हिसाबले चाहिँ कुनै पनि धर्मले विभाजन चाहिँ ल्याउनु हुँदैन मानवीय संवेदनालाई समग्र प्राथमिकता राख्नुपर्छ सिक्न पाइने अरु त अब फिल्मको कथा व्यथा यस्तै हो।’

प्रिमियरमा नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेल र सोमपाल कामी पनि पुगेका थिए । प्रिमियरपछि रोहितले भने, ‘चलचित्र एकदमै राम्रो लाग्यो अरुभन्दा केही फरक केही फरक थियो यो चलचित्र र यो गहिरो रूपमा बुझ्दाखेरि अन्तिम अवस्थामा के हुन्छ भन्ने स्पष्ट भइसकेको थियो र एकदमै राम्रो मुभी र हरिवंशको एकदमै राम्रो अभिनय र मुभी हेर्दा एकदमै राम्रो लाग्यो।’

यसैगरी क्रिकेटर सोमपाल कामीले भने, ‘चलचित्र हेर्दा एकदमै रमाइलो लाग्यो । र हामी हरिसरको लागि नै आएको दुईजना र क्यारेक्टर एकदमै राम्रो थियो। एन्डिङ पनि एकदमै राम्रो थियो। सबै रुपमा हेर्दाखेरि भावुकता झल्काउने कथा थियो तर मलाई एकदमै मनपर्यो र मलाई विश्वास छ यो मुभीले एकदमै राम्रो काम गर्छ। अझै यस्तै यस्तै फिल्महरू आउनुपर्छ अनि नेपाली सिनेमाले अझै धेरै माया पाउँछ ।’

निर्देशक अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पनि चलचित्र एकदमै मन परेकाे बताएका थिए ।

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले हरिवंश आचार्यको फरक अवतार हेर्दा एकदमै मज्जा आएकाे प्रतिक्रिया दिए । ‘कुनै फर्मुला पनि छैन केही कुरा पनि छैन बेग्लै खालको आफ्नो जन्मघरलाई जन्म दिने देशलाई महत्व दिन बताएको छ। देशभरिको अघि एकजना बहिनीले मलाई सोधेको थियो। घर हराएको कथा भन्ने थियो घर बनेको के हो घर भनेको आफ्नो एउटा देश हो। देश भनेको नै घर घरहरूको देश हो। जस्तै हाम्रो नेपाल बुद्धको घर हो सगरमाथाको घर हो भने जस्तै सबै घरहरूको घर हो।’ उनले भने, ‘घर चाहिँ आफ्नो देश हुन्छ त्यसलाई माया तरिकाले प्रस्तुत गरिएको छ अब यसलाई दर्शकहरुले त असाध्यै स्वाद लिएर हेर्नुहुन्छ पक्कै पनि अझै भुटानी नागरिकहरुले त आफ्नो कथा सम्झिँदै रुँदै हेर्छन् होला भन्ने लाग्छ मलाई । त्यहाँको सरकारले कसरी लिन्छ हेर्नुभएको छ सिरियस लिनुहुन्छ कि हुँदैन मानवताको मन पग्लिन्छ कि पग्लिँदैन त्यो हेर्न बाँकी छ’

विनोद पौडेलले निर्देशन गरेको ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र यही वैशाख १२ गते रिलिज हुँदैछ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

समन्धित समाचार