२१ दिनदेखि सडकमा नाच्दै आन्दोलनमा शिक्षकहरू, शिक्षामन्त्रीको राजीनापछि थप अन्योल

teachers aandolan

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माईतीघर–बानेश्वर सडकखण्डमा आज पनि सांस्कृतिक शैलीमा विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। नाचगानसहितको शान्तिपूर्ण प्रदर्शन गर्दै आएका शिक्षकहरू २१ दिनदेखि लगातार सडकमा छन्।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक तुरुन्त जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका हुन्। सरकारको तर्फबाट आगामी बजेट अधिवेशनमार्फत विधेयक पारित गरिने प्रतिबद्धता जनाइए पनि, शिक्षकहरू भने आश्वासनमा होइन, कार्यान्वयनमै विश्वास गर्ने अडानमा छन्।

शिक्षामन्त्रीको राजीनामा र थप अन्योल

शिक्षकहरूको आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छिन्, जसले आन्दोलनमा थप अन्योलता ल्याएको छ। शिक्षकहरूका अनुसार विगतमा पनि सरकारले सम्झौता गरे पनि कार्यान्वयन नगरेको इतिहास दोहोरिन सक्ने भएकाले विधेयक पारित नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन्।

सरकारले वैशाख १२ गते बजेट अधिवेशन आह्वान गरेको छ। तर आन्दोलनरत शिक्षकहरूले विधेयक पास भएको दिनमै आन्दोलन अन्त्य गर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

शैक्षिक सत्र प्रभावित, आलोचना पनि सुरु

शिक्षकहरूको लामो आन्दोलनका कारण देशभर नयाँ शैक्षिक सत्र प्रभावित भएको छ। ५५ लाखभन्दा बढी विद्यार्थीको भविष्य संकटमा परेको भन्दै विभिन्न पक्षबाट आलोचना पनि सुरु भएको छ।

शान्तिपूर्ण प्रदर्शन भनिए पनि सोमबार एकजना अभिभावकमाथि शिक्षकहरूले कुटपिट गरेको घटनाले आन्दोलनको स्वरूपबारे प्रश्न उठेको छ। अभिभावकहरूले आन्दोलनको ढाँचा परिवर्तन गर्न सुझाव दिँदा आक्रोशित बनेका शिक्षकहरूमाथि आलोचना भइरहेको छ।

मानव अधिकार आयोगको ध्यानाकर्षण

विद्यालय सञ्चालनमा ढिलाइ भएपछि अभिभावकहरूले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराइसकेका छन्। शिक्षकहरूलाई विद्यालय फर्काउन सार्वजनिक अपिलसमेत गरिएको छ।

समन्धित समाचार