नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

nepal comunist party

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस आज देशभर विविध कार्यक्रम गरेर मनाइँदैछ। २००६ साल वैशाख ९ गते (तदनुसार २२ अप्रिल १९४९) मा भारतको कोलकातास्थित श्यामबजारको एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा पार्टीको स्थापना गरिएको थियो।

पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित संस्थापक नेताहरूमा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, र मोतीदेवी श्रेष्ठ रहेका थिए। यद्यपि मोतीदेवी श्रेष्ठ भौतिक रूपमा उपस्थित भने हुनुहुन्नथ्यो।

इतिहास र उद्देश्य

कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको १०२ वर्षपछि र सोभियत संघको अक्टोबर क्रान्तिपछि ३२ वर्षपछि नेपालको कम्युनिष्ट आन्दोलनको औपचारिक सुरुवात भएको हो। त्यो समय नेपालमा जहानियाँ राणा शासन विद्यमान रहेकोले पार्टीलाई भूमिगत रूपमा स्थापना गरिएको थियो। यसको मुख्य उद्देश्य थियो—शोषण, उत्पीडन र अन्यायबाट नेपाली जनतालाई मुक्त गराउनु।

विभिन्न दल र कार्यक्रमहरू

वर्तमानमा नेपालमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले) लगायत विभिन्न कम्युनिष्ट धारहरू सक्रिय छन्। २०७५ सालमा एमाले र माओवादी केन्द्र एक भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि त्यो पार्टी धेरै समय टिक्न सकेन।

स्थापना दिवसको अवसरमा नेकपा (एमाले) ले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १२:३० बजे विशेष कार्यक्रम आयोजना गर्दैछ। सो अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सात जना विशिष्ट व्यक्तित्वहरूलाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गरिने र ‘सेल्टर’ नामक पुस्तकको सार्वजनिक समेत गरिने जनाएको छ।

यस्तै, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य कम्युनिष्ट दलहरूले पनि आ-आफ्ना कार्यक्रममार्फत स्थापना दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेका छन्।

समन्धित समाचार