विदेशी भूमिमा सपना बोकेर गएका थुप्रै नेपाली युवाहरू अहिले आफ्नो देशमै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्। पछिल्लो समय दाङका युवाहरू विदेशको आकर्षण छाडेर गाउँमै बसेर बाख्रापालनजस्ता कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भइरहेका छन्।
दाङको घोराही उपमहानगरपालिका–१२ रमना निवासी ३४ वर्षीय जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा यस्तै उदाहरणीय पात्र हुन्, जसले विदेशको जीवनलाई छाडेर देशमै सम्भावना खोजे। दुई दशकभन्दा बढी साउदी अरबमा बिताएका मनबहादुर र पाँच वर्ष विदेशमा काम गरेर फर्किएका जनकले अहिले बाख्रापालनलाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन्।
बुद्ध बाख्रा फार्म नामको फार्ममार्फत व्यवसायमा संलग्न यी मामा–भान्जाले तीन वर्ष अघिदेखि यो व्यवसाय सुरु गरेका हुन्। फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्राहरू पालिएका छन्। फार्म सञ्चालनका लागि उनीहरूले दुई बिघा जमिन भाडामा लिएका छन्।
जनक बुढा भन्छन्, “बाख्राको बिक्रीबाट वार्षिक रूपमा झन्डै रु १० लाखसम्म आम्दानी हुन्छ। खर्चपानी कटाउँदा त्यति धेरै बचत त हुँदैन, तर आत्मसन्तुष्टि भने प्रशस्त छ।” उनका अनुसार दानापानी, औषधोपचार र व्यवस्थापनमा ठुलो लागत लाग्ने भए पनि मेहनत अनुसार नतिजा पाइरहेका छन्।
उता मनबहादुर बुढा भन्छन्, “बाबुबाजेले गर्ने पेसा पशुपालन नै थियो, अहिले हामीले यसलाई आधुनिक रूपमा लिएको छौं। आफ्नै देशमा, आफ्नै मान्छेहरूसँग, आफ्नो परिवारको साथमा काम गर्दा आत्मीयता र आत्मबल दुबै पाइन्छ।”
गत वर्ष बाख्रामा रोग लाग्दा ५४ वटा मरेर करिब रु २ लाख ५० हजारको घाटा बेहोर्नुपरेको अनुभव उनीहरू बताउँछन्। तर व्यवसायप्रति उनीहरूको उत्साह र आशा अझै कम भएको छैन। अहिले एउटा खसीलाई रु ५४ हजारसम्ममा बिक्री गर्ने गरेका छन्।
उनीहरूले फार्ममा घाँसका लागि आवश्यक घाँस आफैँ छर्ने, परिवारका सदस्यहरूबाट श्रम सहायता लिने गरेकाले अन्य कामदारको आवश्यक पर्दैन। सुरुमा आठवटा बाख्राबाट सुरु गरिएको फार्म अहिले व्यवसायिक रूप लिइसकेको छ।
पछिल्लो समय दाङ जिल्लामा व्यावसायिक बाख्रापालनतर्फ युवाहरूको आकर्षण बढ्दो छ। गाउँघरका किसानहरूले घरमै दुई–चारवटा माउबाख्रा पालेर पनि घरखर्च, छोराछोरीको शिक्षादेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेका छन्।
बाख्रापालन व्यवसायले बजारमा समस्या नपाउने भएकाले यो पेसा सुरक्षित, सम्भावनायुक्त र आम्दानीदायक रहेको किसानहरूको भनाइ छ।
निष्कर्षतः, विदेशको जीवनलाई पछाडि छोडेर देशमै पसिना बगाउने युवा पुस्ताको यो परिवर्तनशील सोचले नेपालको ग्रामीण आर्थिक विकासमा नयाँ ढोका खोल्ने संकेत देखिएको छ।