प्रधानमन्त्री र सभामुखसँग मध्यरातसम्म छलफल, शिक्षक आन्दोलन रोकिएन

Teachers Pm Oli 768x432 1


प्रधानमन्त्री र सभामुखसँग मध्यरातसम्म छलफल, शिक्षक आन्दोलन रोकिएन

काठमाडौं, वैशाख ६ –
शिक्षक तथा कर्मचारीहरुले अघि सारेको आन्दोलनको समाधानका लागि शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरे पनि शिक्षक महासंघका नेताहरु आश्वस्त हुन सकेनन्। त्यसैले उनीहरुले आन्दोलन आज पनि यथावत् राख्ने घोषणा गरेका छन्।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी शुक्रबार राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेर सवा ११ बजे बाहिरिएका थिए। त्यसपछि उनीहरु राति नै सभामुख देवराज घिमिरेलाई भेट्न सभामुख निवास पुगेका थिए।

प्रधानमन्त्रीको आश्वासनले चित्त बुझेन

छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् यथासक्य छिटो ल्याउने प्रतिबद्धता दोहोर्‍याए। उनले आजै शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलका नेताहरूसँग छलफल गरेर निष्कर्ष निकाल्ने आश्वासन दिएका थिए। तर महासंघका नेताहरु यसबाट सन्तुष्ट भएनन्।

सहअध्यक्ष पराजुलीका अनुसार प्रधानमन्त्रीले वर्षे अधिवेशनमार्फत् शिक्षा विधेयक संसदमा टेबल गर्ने प्रतिवद्धता जनाए पनि सो कुराले पर्याप्त ग्यारेन्टी नदिएको भन्दै आन्दोलन जारी राख्ने निर्णयमा पुगेका हुन्।

सभामुखसँगको छलफल पनि निष्कर्षविहीन

सभामुख देवराज घिमिरेसँग पनि शिक्षक नेताहरुको मध्यरातमा छलफल भएको थियो। सभामुखले विषयगत समितिलाई चाँडो विधेयक बुझाउन आग्रह गर्दै उपसमितिले ११ गतेभित्र विधेयक ल्याए संसदमा १२ गते टेबल गरेर १३–१४ गतेभित्र पारित गर्न सकिने बताएका थिए।

तर सभामुखको तर्फबाट कोरम नपुग्ने, बैठक नबस्ने लगायतका कारणले प्रक्रिया अलपत्र पर्न सक्ने देखिएकाले शिक्षकहरु अझै विश्वस्त हुन सकेनन्।

सरकारको आग्रह अस्वीकार, आन्दोलन यथावत

सरकारले वैशाख १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा शिक्षा ऐन पारित गर्ने योजना बनाएर आन्दोलन रोक्न आग्रह गरे पनि शिक्षक महासंघले “निःसर्त” माग पुरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ।

शिक्षा मन्त्रालयले सर्तसहित ऐन पास गर्ने प्रस्ताव ल्याएको भन्दै महासंघले त्यसलाई अस्वीकार गर्दै निःसर्त ऐन जारी गर्न माग गरिरहेको छ।

शैक्षिक गतिविधिमा असर

२० चैतदेखि सुरु भएको आन्दोलनले देशभरका सरकारी विद्यालयका शैक्षिक गतिविधिहरू ठप्प छन्। २५ चैतदेखि शैक्षिक हड्ताल जारी रहेको हुँदा विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका काम ठप्प छन्। कक्षा १२ को वार्षिक परीक्षा पनि प्रभावित हुने सम्भावना रहेको छ, यद्यपि राष्ट्रिय परीक्षा बोर्डले तालिका अनुसार परीक्षा हुने बताएको छ।

शिक्षक महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्न सरकार सकारात्मक भए मात्र विचार गरिने स्पष्ट पारेको छ। ‘प्रधानमन्त्रीको आजको छलफलपछि के निष्कर्ष आउँछ, त्यसपछि मात्रै अर्को निर्णय हुन्छ,’ आन्दोलन परिचालन समिति संयोजक पराजुलीले भनिन्, ‘तर अहिलेसम्म आन्दोलन रोकिएको छैन।’


समन्धित समाचार