गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान छ : प्रचण्ड
२०८२ वैशाख ४, बिहीबार | बुटवल
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको कारण दलहरूबीचको मतभेद नभई बिचौलियाहरूको स्वार्थगत टकराव रहेको बताएका छन्। उनले गभर्नर नियुक्तिमा अब ढिलाइ नगरी मेरिटोक्रेसीको आधारमा निर्णय गर्न सरकारलाई सुझाव दिएका छन्।
रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ। तपाईंहरुलाई लाग्न सक्छ पार्टीहरूको बीचमा भागबन्डा मिलेको छैन, तर कुरा नमिलेको त बिचौलियाको बीचमा हो।”
उनका अनुसार गभर्नर कसको हुने भन्नेमा स्वार्थ समूहहरूबीच प्रतिस्पर्धा चलिरहेको छ, जसका कारण प्रक्रिया अघि बढ्न नसकेको हो। उनले ती बिचौलियाहरू कहिले कांग्रेस, कहिले एमालेसँग हातेमालो गर्दै नियुक्तिमा प्रभाव जमाउने प्रयासमा रहेको आरोप लगाए।
प्रचण्डले थपे, “यो समूहको हुने कि त्यो समूहको भन्ने टुंगिएको छैन। उनीहरूले कहिले कांग्रेसलाई, कहिले एमालेलाई पक्डेका छन्, त्यसैले ढिलो भइरहेको छ।”
सरकारमाथि गम्भीर आरोप
अध्यक्ष प्रचण्डले सरकारमाथि बिचौलियाहरूको स्वार्थअनुसार काम गरिरहेको आरोप पनि लगाए। उनले इमानदार र योग्य कर्मचारीहरूलाई अपमानित गर्ने, प्रताडित गर्ने र सेवाबाट हटाउने काम भइरहेको बताए भने अनियमित, भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई नियुक्त गर्ने प्रवृत्तिको आलोचना गरे।
“सरकार इमानदार कर्मचारीलाई निकाल्ने र नालायकलाई भित्र्याउने काममा लागेको छ। यस्तो चलनले अर्थतन्त्रलाई थप संकटमा पुर्याउँछ,” उनले भने।
संवेदनशील पदहरूमा चलखेल बन्द गर्न आग्रह
प्रचण्डले गभर्नर जस्तो संवेदनशील पदमा हुने बिचौलियाको चलखेल तुरुन्त बन्द गर्नुपर्ने आवश्यकता औंल्याए। पार्टी र समाजवादी मोर्चाका तर्फबाट पटक–पटक सरकारलाई खबरदारी गरिसकिएको भए पनि सरकारले यसतर्फ गम्भीर ध्यान नदिएको उनको आरोप थियो।
उनले कांग्रेसका महामन्त्रीहरूले समेत प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको भनिसकेको उल्लेख गर्दै यो मुद्दा अब सबैको साझा चिन्ता बनेको बताए।
“पहिले त माओवादी र प्रचण्डले भनेको पुर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला। अहिले कांग्रेसकै महामन्त्रीहरूले समेत यो कुरा उठाउन थालेपछि त छ्याङ्ग भयो नि! प्रचण्डले भनेको झुट होइन रैछ,” उनले प्रष्ट पारे।
गणतन्त्रका लागि पनि गम्भीर चेतावनी
अन्त्यमा प्रचण्डले गणतन्त्र र सुशासनको भविष्यका लागि सरकारलाई गम्भीर चेतावनी दिँदै भने, “अब पनि बिचौलियाका आधारमा नियुक्ति गर्ने र योग्य व्यक्तिलाई किनारामा राख्ने काम भएमा यो लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्न सक्छ। यसलाई तुरुन्त सुधार्न आवश्यक छ।”