विमानस्थलमा फर्किएका युवामाथि दुर्व्यवहार : तीन प्रहरीलाई कारबाही

nepali youth harassed in airport


विमानस्थलमा फर्किएका युवामाथि दुर्व्यवहार : तीन प्रहरीलाई कारबाही
३ वैशाख २०८२, बुधबार |

वैदेशिक रोजगारीबाट बिदामा फर्किएका एक नेपाली युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्व्यवहार प्रकरणमा संलग्न तीन जना सुरक्षाकर्मीलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार ती तीन जना प्रहरीलाई तत्काल प्रभावबाट विमानस्थल सुरक्षाबाट हटाइएको छ। साथै उनीहरूलाई उपत्यका प्रहरी कार्यालयमा झिकाएर अनुशासन तथा व्यवहारसम्बन्धी छानबिन अगाडि बढाइएको जानकारी दिइएको छ।

यो घटना २०८१ साल चैत ३१ गतेको हो। दुबईबाट काठमाडौं आएका मोरङ निवासी सञ्जय ओझा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन र भन्सार प्रक्रियाहरू पार गरिसकेपछि ट्रलीको विषयलाई लिएर एक व्यक्तिसँग विवादमा परेका थिए। ओझाले आफूलाई विमानस्थल कर्मचारी बताउने ती व्यक्तिले दुर्व्यवहार गरेपछि प्रहरी बोलाएका थिए। तर, प्रहरीहरूबाट नै थप दुर्व्यवहारको शिकार भएको गुनासो उनले सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक गरेका थिए।

ओझाका अनुसार उनी १० दिनको बिदामा नेपाल आएका थिए। उनले विमानस्थलको प्रवेशद्वार पार गर्ने क्रममा ट्रलीबारे सामान्य विवाद भएपछि सहायताको लागि प्रहरीलाई बोलाएका थिए। तर, प्रहरीहरूले उनको कुरा नसुनी उल्टै गालीगलौज र दुर्व्यवहार गरेका थिए।

घटना सार्वजनिक भएपछि नागरिक स्तरबाट व्यापक आलोचना सुरु भएको थियो। यसैका आधारमा प्रहरी प्रशासनले तत्काल कदम चाल्दै संलग्न सुरक्षाकर्मीमाथि छानबिन प्रक्रिया थालेको हो।

एसएसपी खनालले दोषी ठहरिएका सुरक्षाकर्मीहरूलाई आवश्यक अनुशासनात्मक कारबाही हुने स्पष्ट पारेका छन्। उनले भने, “सम्झनुपर्छ, प्रहरी जनताको सेवा र सुरक्षा गर्न हो। कुनै पनि नागरिकमाथि अन्याय वा अपमान हुने कार्य सह्य हुँदैन।”


समन्धित समाचार