प्रधानमन्त्रीद्वारा शिक्षकहरुको मागबारे मन्त्री र सचिवहरुसँग छलफल
शिक्षक आन्दोलनको समाधान वार्ताबाट खोज्न जोड
रिपोर्टर्स नेपाल | २०८१ चैत २५, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकरूको आन्दोलन र मागबारे आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्री तथा सचिवहरूसँग महत्वपूर्ण छलफल गरेका छन्।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँमा जारी आन्दोलन, त्यसका मागहरू, वर्तमान आर्थिक अवस्था, विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया, र सरकारले तत्काल पूरा गर्न सक्ने मागहरूका विषयमा गहन समीक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले वार्ताबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै सम्बन्धित पक्षहरूलाई थप गृहकार्य गरी समाधानमुखी पहल गर्न निर्देशन दिएका छन्।