काठमाडौँ, १७ चैत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ११औं बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा स्थित राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा, यस स्थानमा पहिले १५ श्यैयाको अस्पताल रहेको थियो, र त्यसलाई स्तरोन्नति गरेर ५० श्यैयाको अस्पतालमा रूपान्तरण गर्ने नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।
प्रतिष्ठानले अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ।
बैठकमा, प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्ररूपमा काम अघि बढाउन निर्देशन दिनुभयो। उहाँले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेको र अस्पतालको स्तरोन्नति पछि त्यहाँका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
सभामा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी बजेट पारित गरिएको साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन पनि प्रस्तुत गरिएको छ। बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरुको मनोनयन पनि गरिएको छ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए।