भुलवश च्याट ग्रुपमा पत्रकार एड भएपछि खुल्यो अमेरिकी सेनाको गोप्य योजना

Screenshot 20250327 144040 Facebook

काठमाडौं, १४ चैत २०८१ – अमेरिकी सेनाको अत्यन्त गोप्य रणनीतिक छलफल बाहिरिएको छ। युद्धसम्बन्धी योजनाहरू आदान-प्रदान गर्न बनाइएको ‘सिग्नल’ च्याट ग्रुप मा भुलवश पत्रकार एड भएपछि उक्त गोपनीय जानकारी बाहिरिएको हो।

हुथी विद्रोहीमाथिको आक्रमण योजना सार्वजनिक

इन्क्रिप्टेड मेसेजिङ एप सिग्नल मार्फत भएको छलफलमा यमनका हुथी विद्रोहीहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले गर्ने आक्रमणको योजना बनाइएको थियो। सो च्याटमा आक्रमणको समय, स्थान, सेना परिचालन, हतियारको प्रयोग लगायतका महत्त्वपूर्ण जानकारीहरू समेटिएका थिए।

च्याट समूहमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, रक्षासचिव हेगसेथ, सीआईएका निर्देशक जोन र्याटक्लिफ, तथा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी थिए। बीबीसीमा प्रकाशित समाचारअनुसार, च्याट समूहको नाम ‘Houthi PC small group’ राखिएको थियो र समूहमा १९ जना सदस्य थिए। यो च्याट स्वचालित रूपमा एक हप्तापछि मेटिने गरी सेट गरिएको थियो।

पत्रकार कसरी एड भए ?

यो संवेदनशील जानकारी सार्वजनिक गर्ने व्यक्ति अटलान्टिक म्यागेजिनका प्रधान सम्पादक जेफरी गोल्डबर्ग हुन्। उनले आफ्नै लेख मार्फत खुलासा गरे अनुसार अमेरिकी रक्षासचिव हेगसेथले गल्तीले उनलाई समूहमा एड गरे

गोल्डबर्गले लेखेका छन् –
“मैले बम खसालिनुभन्दा दुई घण्टाअघि नै आक्रमण योजनाबारे जानकारी पाएको थिएँ।”

उक्त जानकारी मिलेसँगै उनले अमेरिकी सरकारलाई खबर गरेपछि मात्र आफू च्याट ग्रुपबाट बाहिरिएको खुलासा गरेका छन्।

राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

यो घटना सार्वजनिक भएपछि पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युज ले घटनाको सत्यता जाँच भइरहेको बताउँदै, गल्तीले असम्बन्धित व्यक्ति समूहमा एड भएको हुन सक्ने बताएका छन्।

ट्रम्प प्रशासनको आलोचना

यो घटनाले ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षाप्रतिको लापरवाही देखाएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कडा आलोचना गरिरहेका छन्।

यो लापरवाहीले अमेरिकी सैन्य रणनीति मात्र होइन, समग्र राष्ट्रिय सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

समन्धित समाचार