राजा चाहिने वा नचाहिने जनमत संग्रहमा जानुपर्छः कांग्रेस नेता दयाराम पाण्डे

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले नेपालमा राजा रहने वा नरहने भन्ने विषयमा जनमत संग्रह गरिनुपर्ने माग गरेका छन्। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा ल्याउने वा नल्याउने भन्ने विषयमा निर्णय गर्न ३ करोड नेपाली जनताले भोट हाल्न पाउनुपर्ने बताएका छन्।

पाण्डेले यो विषयमा कांग्रेसको संस्थागत निर्णय भने भएको बताए। तर, उनले यस विषयमा कांग्रेसका धेरै नेताहरु गुम्सिएर बसेको पनि उल्लेख गरे। उनले भने, “कांग्रेसका सदस्यहरु धेरै भित्र गुम्सिएर बस्नु भएको छ। धेरैको आवाज यही छ, राजाको बारेमा जनमत संग्रह, जनताले भोट हाल्नुपर्यो। तीन करोड जनताले भोट हाल्नुपर्यो। जनमत संग्रह नगरी एकथरीले मात्रै भनेर राजसंस्था आउन सक्दैन।”

उनले अहिले सम्म कांग्रेसको संस्थागत निर्णय नभइसके पनि पार्टी भित्रका सबै केन्द्रीय सदस्यहरुको इच्छा र आकांक्षा राजाको बारेमा जनमत संग्रह गरिनुपर्ने रहेको बताए। पाण्डेले यस विषयमा पूर्वराजा ज्ञानेन्द्रले पनि जनमत संग्रहको लागि दबाब दिनुपर्ने र तीन करोड नेपाली जनताले पनि यस विषयमा दबाब दिनुपर्ने माग गरे।

उनले यस विषयलाई लिएर राजनीतिक दलहरु बीच छलफल र जनताको राय लिनुपर्ने जोड दिए। पाण्डेले भने, “नेपालमा साँच्चै नै राजा नै ल्याउने हो भने पूर्वराजा ज्ञानेन्द्रले जनमत संग्रहको लागि प्रेसर गर्नुपर्छ। तीन करोड नेपालीहरुले पनि यस विषयमा प्रेसर दिनुपर्छ।”

यस अन्तरक्रिया कार्यक्रममा उनले नेपालको राजनीतिक अवस्था, संविधान संशोधन, राष्ट्रिय एकताको आवश्यकता जस्ता विषयहरुमा पनि आफ्नो विचार राखेका थिए। पाण्डेले नेपालमा राजनीतिक स्थिरता र विकासको लागि सबै दलहरुले एकअर्काको विचारलाई सम्मान गर्नुपर्ने र जनताको आवाजलाई प्राथमिकता दिनुपर्ने आह्वान गरे।

यस विषयमा जनमत संग्रह गर्ने माग बढ्दै गएको छ भने राजनीतिक दलहरु बीच यस विषयमा छलफल र विचारविमर्शको आवश्यकता देखिन्छ। नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले यस विषयलाई लिएर जनताको राय लिनुपर्ने माग गरेपछि यसले राजनीतिक गलियारामा नयां बहस सुरु गरेको छ।