प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं, ७ चैत – नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भेटवार्तामा नेपाल–माल्दोभा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा विस्तृत छलफल भएको थियो। भेटका क्रममा जलवायु परिवर्तन, शिक्षा, संस्कृति, व्यापार तथा लगानी प्रवर्द्धन जस्ता विषयमा सहकार्यको सम्भावनाबारे गहन छलफल भएको बताइएको छ।
प्रधानमन्त्री ओलीले नेपालले जलवायु परिवर्तनको असरलाई गम्भीर रूपमा लिएको बताउँदै आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोप्सोइलाई आग्रह गरे। यो संवाद जलवायु परिवर्तन, पर्यावरणीय दिगोपन, तथा हिमालदेखि समुद्रसम्मको सुरक्षा विषयमा केन्द्रित रहने छ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।