प्रधानमन्त्रीको विद्यार्थीलाई शुभकामना तथा सल्लाह
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीहरूलाई उच्च मनोबलका साथ परीक्षामा सामेल हुन आग्रह गर्नुभएको छ। बुधबार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले धैर्य र आत्मविश्वासका साथ परीक्षा दिन विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको हो।
“विद्यार्थी भाइबहिनीहरू, यही चैत ७ गतेदेखि एसइई परीक्षा सुरू हुँदैछ। तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ,” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन। राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस्। मेरो धेरै धेरै शुभकामना छ।”
परीक्षा तयारीका लागि सुझाव
प्रधानमन्त्रीले विद्यार्थीहरूलाई परीक्षासँग नआतिन र आफ्नो तयारीलाई अझ व्यवस्थित बनाउन सुझाव दिनुभएको छ। विशेषगरी, अनिँदो र थकित अवस्थामा परीक्षा दिन गाह्रो हुने भएकाले विद्यार्थीहरूले पर्याप्त आराम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
“पहिले पहिले एसएलसीलाई फलामे ढोका भन्थ्ये। त्यो शब्दले विद्यार्थीमा त्रास पैदा गर्थ्यो। तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका विभिन्न मोडमा आइरहने प्रक्रिया हो। धेरै परीक्षा उतीर्ण गरेर तपाईहरू यहाँसम्म आइपुग्नुभएको छ।”
राम्रो नतिजाको अपेक्षा
प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको उल्लेख गर्दै यस वर्ष विद्यार्थीहरूबाट राम्रो नतिजाको अपेक्षा गरेको बताउनुभएको छ। उहाँले विद्यार्थीहरूलाई अनुशासित, मिहिनेती र लगनशील भएर अध्ययन गर्न आग्रह गर्दै सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँको सन्देशमा शिक्षाको महत्त्व र परीक्षाले विद्यार्थीहरूको भविष्य निर्माणमा गर्ने भूमिकाबारे पनि चर्चा गरिएको थियो। “यो परीक्षा तपाईंहरूको लागि अवसर हो। आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस्, र देशका उज्ज्वल नागरिक बन्नुहोस्,” प्रधानमन्त्रीले भन्नुभएको छ।