सरकारले नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पहिलो वरीयतामा रहनुभएका एआइजी थापालाई नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । थापापछि दोस्रो र तेस्रो वरीयतामा क्रमशः एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ हुनुहुन्छ ।
नियुक्त गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने व्यवस्था छ । सरकारले यही नियमावली अनुसार नै वरिष्ठतम् एआइजी दीपक थापालाई नै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखका रूपमा कार्यरत थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व सम्हालिसक्नुभएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतका विभिन्न विभाग तथा जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न प्रहरी युनिटहरूको कुशलतापूर्वक कमान्ड सम्हालिसक्नु भएका थापा प्रहरी सङ्गठनमा निडर र स्वच्छ छविका प्रहरी अधिकारीका रूपमा चिनिनु हुन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण तथा विभिन्न सरकारी जग्गा हिनामिनाबारे थापा नेतृत्वको प्रहरीले कुशल अनुसन्धान गरेको थियो । २०५२ सालमा प्रहरी निरीक्षकमा भर्ना हुनुभएका थापाले अपराध अनुसन्धानसँगै कमान्ड कन्ट्रोल र कार्यक्षमतामा अब्बल मानिनुहुन्छ ।
।





