फरार सुचीमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मा कारागार चलान

unnamed 1

फरार सुचीमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मा कारागार चलान भएका छन।

पर्वत, २ चैत्र – वैदेशिक रोजगार न्यायाधिकरणबाट तोकिएको सजाय भोग्न बाँकी रहेर फरार सुचीमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतले ६ वर्षपछि उनलाई नियन्त्रणमा लिएको हो।

२०७५ साल माघ २८ गते न्यायाधिकरणको फैसलाअनुसार १ वर्ष २१ दिन कैद सजाय भोग्न बाँकी रहेका ७२ वर्षीय विश्वकर्मालाई प्रहरीले फागुन २७ गते पक्राउ गरेको हो। उनी पर्वत जिल्ला, कुस्मा नगरपालिका-८ चुवा स्थायी निवासी हुन्।

काठमाडौँमा लुकीछिपी बस्दै आएका थिए

पक्राउ परेका विश्वकर्मा हाल काठमाडौँ महानगरपालिका-१६, वनस्थली क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टका अनुसार उनलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई पर्वत कारागार चलान गरिएको छ।

नेपाल कांग्रेसबाट सांसद भएका थिए

पूर्व सांसद मिठा राम विश्वकर्मा २०६४ सालमा अन्तरिम संसद सदस्य बनेका थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रहरीको निरन्तर खोजतलास अभियान

जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीहरूको खोजी कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। यस क्रममा विश्वकर्मालाई पक्राउ गरिएको हो। प्रहरीले अन्य फरार अभियुक्तहरूलाई समेत खोजी कार्यलाई तीव्रता दिने जनाएको छ।

समन्धित समाचार