सर्लाहीको पन्ध्र वटा अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

सर्लाहीको पन्ध्र वटा अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

१ चैत २०८१, शुक्रबार

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। बिहीबार राति भएको अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले दर्ता बिना सञ्चालनमा रहेका निजी अस्पताल तथा पोलिक्लिनिक तत्काल बन्द गर्न आदेश दिएका हुन्।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल मलङ्गवा र अन्य १८ वटा निजी अस्पतालहरूको निरीक्षण गरेका छन्। अनुगमनका क्रममा उनले प्रादेशिक अस्पताल मलङ्गवाको क्यान्टिनमा खुवाइने खानाको स्वच्छता सुनिश्चित गर्न, आकस्मिक कक्षमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकको नम्बर तत्काल मेट्न निर्देशन दिए।

मुख्यमन्त्री सिंहको अनुगमनको खबर फैलिने वित्तिकै मलङ्गवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिकका सञ्चालक र कर्मचारीहरू अस्पताल बन्द गरेर भागाभाग गरेका थिए। यसअघि सर्लाहीकै नवलपुरमा भएको अनुगमनका क्रममा पनि यस्तै घटना दोहोरिएको थियो।

बन्द गरिएका अस्पतालहरू: मुख्यमन्त्री सिंहले अनाधिकृत रूपमा सञ्चालनमा रहेका निम्न अस्पतालहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन्:

  1. म्याक्स अस्पताल
  2. मिथिला डेन्टल क्लिनिक
  3. दिनकर अस्पताल
  4. रामावतार पेन पारालाइसीस सेन्टर
  5. कल्याण हेल्थ केयर
  6. शीतल डेन्टल क्लिनिक
  7. चन्द्रकला पोलिक्लिनिक
  8. इन्डो नेपाल आँखा अस्पताल
  9. कान्तिपुर डेन्टल एण्ड एक्स-रे क्लिनिक
  10. प्रेमा हेल्थ क्लिनिक
  11. सर्लाही कम्युनिटी हेल्थ केयर
  12. गुप्ता क्लिनिक
  13. सर्लाही पोलिक्लिनिक
  14. सिद्धिदाता हेल्थ केयर
  15. देवश्री पोलिक्लिनिक

नवीकरण गर्न निर्देशन दिइएका अस्पतालहरू: मुख्यमन्त्री सिंहले दर्ता भएर नवीकरण दुरुस्त नभएका निम्न स्वास्थ्य संस्थाहरूलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिएका छन्:

  1. जयश्री ओम हेल्थ केयर
  2. तिरुपती बालाजी पोलिक्लिनिक
  3. बह्मभूमि हेल्थ रिसर्च प्रा.लि.

केही निजी अस्पताल सञ्चालकहरूले स्वास्थ्य संस्था नियमन मापदण्ड नै नबनेको गुनासो गरेका छन्। मलङ्गवा नगरपालिकाले अस्पताल नवीकरणको प्रक्रिया ढिलो गरिरहेको आरोप लगाउँदै सञ्चालकहरूले प्रक्रिया सहज बनाउन आग्रह गरेका छन्।

सरकारी तथा निजी अस्पतालहरूमा व्यापक लापरबाही देखिएको भन्दै मुख्यमन्त्री सिंहले प्रदेशभरका स्वास्थ्य संस्थाहरूको अनुगमन अभियानलाई तीव्रता दिने बताएका छन्।

समन्धित समाचार