हित्यकार लीलबहादुर क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं, ३० फाल्गुन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसिद्ध नेपाली साहित्यकार लीलबहादुर क्षेत्रीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। क्षेत्रीको निधनको खबरले आफूलाई अत्यन्तै पीडा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दिवंगत साहित्यकारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भावना व्यक्त गर्दै स्वर्गीय क्षेत्रीका परिवारजन, आफन्तजन तथा साहित्यानुरागीहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

‘बसाइँ’ उपन्यासले छोएको हरेक नेपालीको मन

लीलबहादुर क्षेत्रीको सर्वाधिक चर्चित उपन्यास ‘बसाइँ’ नेपाली साहित्यमा गहिरो प्रभाव पार्ने कृतिमध्ये एक मानिन्छ। यस उपन्यासले क्याम्पस पढ्ने हरेक विद्यार्थीको मन छुने मात्र नभई नेपालको समाजमा बसाइँसराइको यथार्थ चित्रण प्रस्तुत गरेको छ। उपन्यासमा विशेष गरी दोस्रो विश्वयुद्धताका नेपालबाट सिक्किम, असम, मेघालय, भुटानतिर बसाइँ सर्न बाध्य नेपाली समुदायको पीडा समेटिएको छ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो। उहाँको बसाइँ र अन्य उपन्यासले नेपालबाट विस्थापित नेपालीहरूको यथार्थ चित्रण गरेको छ।”

‘बह्मपुत्रको छेउछाउ’ उपन्यासको ऐतिहासिक महत्त्व

लीलबहादुर क्षेत्रीका अन्य कृतिहरूमध्ये ‘बह्मपुत्रको छेउछाउ’ पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस उपन्यासले पूर्वोत्तर भारतमा रहेका नेपालीहरूको संघर्ष र जीवनयात्रा दर्शाउँछ। क्षेत्रीको साहित्यिक योगदानलाई कदर गर्दै भारत सरकारले उनलाई प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’ प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले दिवंगत साहित्यकार क्षेत्रीको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै “उहाँको साहित्य सधैं जीवित रहनेछ” भन्ने धारणा व्यक्त गरेका छन्।

गुवाहाटीमा ९३ वर्षको उमेरमा निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति भारतको असम राज्यको राजधानी गुवाहाटीमा निधन भएको हो। नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन क्षेत्रीको योगदान अतुलनीय रहेको विभिन्न साहित्यानुरागीहरूले उल्लेख गरेका छन्।