राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिबाना

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौं, फागुन २६ । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएअनुसार, पूर्वराजाको स्वागतका लागि आयोजित कार्यक्रमका सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला, सडकपेटी, आईल्याण्ड तथा त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएका थिए। साथै, जथाभावी फोहोर फालेर वातावरणीय प्रदूषण फैलाएको आरोप पनि लगाइएको छ।

महानगरले यस सम्बन्धमा राप्रपा मुख्यालयमा पत्र लेख्दै एक लाख रुपैयाँ जरिबाना तोकेको जानकारी गराएको छ। उक्त पत्र निर्वाचन आयोग तथा काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई समेत पठाइएको छ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम कारबाही गरेको जनाएको छ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोर फैलाउने विभिन्न राजनीतिक दल तथा संस्थाहरूमाथि जरिबाना लगाउने कार्य गर्दै आएको छ। गत मंसिर ७ मा दरबारमार्गमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आयोजना गरेको जागरणसभाका क्रममा पनि फोहोर फैलिएको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो।

काठमाडौं महानगरपालिकाले शहरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले सार्वजनिक स्थलमा फोहोर गर्ने जो-कोहीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।