प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा आयोजित ‘डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी आइटी रोजगार मेला २०२५’ सम्पन्न भएको छ । यहाँ सिफलस्थित डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको उक्त मेलामा २९ कम्पनीको सहभागिता रहेको संयोजक श्यामसुन्दर खतिवडाले जानकारी दिनुभयो ।
मेलाले विद्यार्थीलाई रोजगारका अवसर खोज्न र थाहा पाउन मद्दत गर्ने उद्देश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । “विद्यार्थीले आफ्नो क्षमतासँग जोडिएको जागिर कहाँ कसरी खोज्ने भन्ने अन्योल हुने गर्छ । त्यसकारण पनि यो रोजगार मेला आवश्यक देखिएको हो । यहाँ विद्यार्थी र रोजगारदाताले प्रत्यक्ष रूपमा भेटेर छलफल गरेका छन् । यहाँ आएर मेला अवलोकन गर्नेले मात्र पनि आइटी क्षेत्रमा रहेको सम्भावना र रोजगारीलाई बुझ्ने मौका पाउनु भएको छ”, संयोजक खतिवडाको भनाइ छ ।
उहाँले मेलामा सहभागी कम्पनीहरूले ‘इन्टर्नसिप’का साथै पूर्णकालीन र आशिंक जागिरका लागि आवदेनहरू लिएको बताउनुभयो । इन्स्टिच्युटका प्रमुख हितेश कार्कीले पहिलोपटक सन् २०१६ मा मेलाको आयोजना गरिएका जानकारी दिँदै विद्यार्थी र रोजगारदातालाई एकै स्थानमा ल्याउन वातावरण निर्माणका लागि सहयोग पुग्ने भएकै कारण यसको प्रभावकारिता बर्सेनि बढिरहेको बताउनुभयो ।