‘लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ’

Deepak khadka 1

ऊर्जामन्त्री दीपक खड्काको भनाइ: ‘लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ’

२२ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै लोडसेडिङ अन्त्य गर्ने कार्यमा एक मात्र व्यक्तिको भूमिका नभएको स्पष्ट पारे।

मन्त्री खड्काले नेपालमा लोडसेडिङ हटाउन भारतबाट बिजुली आयातको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भने, ‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो। त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु, लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ।’

उनले केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला भारतबाट बिजुली आयात गर्ने निर्णय भएको स्मरण गराउँदै भने, ‘लोडसेडिङ अन्त्य एकजनाले मात्रै गरेको होइन। यसमा सरकारको निर्णय, भारतबाट गरिएको बिजुली आयात, नीति निर्माण, कार्यान्वयन पक्ष सबैको भूमिका रह्यो। कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले राम्रो काम गरे पनि यो श्रेय केवल एकजनालाई दिन मिल्दैन।’

कुलमान घिसिङको प्रशंसा तर श्रेय बाँड्नुपर्ने तर्क

मन्त्री खड्काले कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हटाउने पहल सराहनीय रहेको स्वीकार गरे। उनले भने, ‘उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ किन गर्ने? उहाँलाई धन्यवादै दिन सकिन्छ। तर लोडसेडिङ हटाउन धेरै पक्षहरूको भूमिका रह्यो भन्ने बुझ्नुपर्छ। यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ। यो भ्रममा नपालौं भन्न चाहेको हुँ।’

बिजुली आपूर्तिको दीर्घकालीन योजना आवश्यक

नेपालमा लोडसेडिङ अन्त्य भए पनि दीर्घकालीन रूपमा ऊर्जा आपूर्ति सुनिश्चित गर्न थप योजनाहरू आवश्यक रहेको मन्त्री खड्काले बताए। हाल नेपालमा जलविद्युत उत्पादन तीव्र रूपमा भइरहेको भए पनि आयातित बिजुलीमा निर्भरता घटाउन आवश्यक नीति अपनाउनुपर्ने उनको भनाइ छ।

मन्त्री खड्काको यो भनाइप्रति संसद्‍का विभिन्न सदस्यहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपय सांसदहरूले नेपाल स्वयं ऊर्जामा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् भने केहीले कुलमान घिसिङकै नेतृत्व र व्यवस्थापन क्षमताका कारण लोडसेडिङ हटेको तर्क गरेका छन्।

नेपालमा सन् २०१६ यता लोडसेडिङ हटिसकेको छ। कुलमान घिसिङको नेतृत्वमा विद्युत प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापन सुधार गर्दै मागअनुसार आपूर्ति गर्न सफल भएको थियो।

मन्त्री खड्काको यो भनाइपछि सामाजिक सञ्जालमा पनि विभिन्न खालका प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले भारतलाई श्रेय दिनु गलत भएको बताइरहेका छन् भने केहीले ऊर्जामन्त्रीको तर्कलाई समर्थन गरेका छन्।

समन्धित समाचार