काठमाडौं । राष्ट्रिय सभाको बैठक जारी छ । दिउँसो सवा एक बजेबाट सुरु भएको बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूची रहेको छ । सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू धमाधम पारित हुने क्रम जारी छ ।
राष्ट्रिय सभाले हालसम्म सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश – २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश – २०८१ बहुमतले पारित गरिसकेको छ ।
सुशासन र आर्थिक अध्यादेशमा अस्वीकृत प्रस्तावहरू
सुशासन प्रवर्द्धन अध्यादेशमा सांसद गोपीबहादुर सार्की अछामीले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेशमा सांसद वेदुराम भुसालले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
तर, दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राष्ट्रिय सभाले ती अध्यादेशहरू पारित गरेको छ ।
सरकारका तर्फबाट मन्त्रीहरूको प्रस्ताव
सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन अध्यादेश, र अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
प्रतिनिधि सभाले पनि हिजो पारित गरिसकेको थियो
यसअघि, प्रतिनिधि सभाले पनि हिजो बहुमतले यी अध्यादेशहरू पारित गरिसकेको थियो । अब राष्ट्रिय सभाबाट पनि पारित भएसँगै यी अध्यादेशहरू कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेका छन् ।
अझै बाँकी अध्यादेशहरू निर्णयको पर्खाइमा
आजको बैठकमा बाँकी रहेका तीन वटा अध्यादेशहरू पनि छलफल र निर्णयको चरणमा छन् । राष्ट्रिय सभाले ती अध्यादेशहरूलाई पारित गर्ने वा अस्वीकृत गर्ने भन्ने निर्णय बैठकको आगामी प्रक्रियामा निर्भर रहनेछ ।
(यो समाचार अपडेट भइरहेकाले थप जानकारीको लागि प्रतिक्षा गर्नुहोस्।)