महोत्तरी, २२ फाल्गुन – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
भारतीय सीमामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो। उहाँले प्रधानमन्त्री हुँदा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको स्मरण गर्दै केही काम सुरु भइसकेको उल्लेख गर्नुभयो। उहाँले अब बाँकी प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने बताउनुभयो।
अध्यक्ष प्रचण्डले आफू नेतृत्वको पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ अन्तर्गत सीमावर्ती क्षेत्रका जनताको अवस्था बुझ्ने तथा सम्भावित विकास निर्माणका काम अघि बढाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो। उहाँले भिट्ठामोड सुख्खा बन्दरगाहको विषयलाई पनि अभियानकै प्राथमिक एजेन्डाका रूपमा अघि बढाइने प्रतिवद्धता जनाउनुभयो।
ज्ञापनपत्र बुझाइयो
कार्यक्रमका क्रममा जलेश्वर उद्योग वाणिज्य संघले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो। सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै, भिट्ठामोड सुख्खा बन्दरगाह मधेसका सबै जिल्लाका लागि पायक पर्ने स्थानमा रहेको जानकारी गराउनुभयो।
साथै, चौधरीले मणिपाल मेडिकल कलेजका लागि स्थानीयबासीबाट ३५ बिघा जग्गा सस्तोमा लिएर अलपत्र अवस्थामा छोडिएको गुनासो राख्दै तत्काल काम सुरु गर्न आवश्यक निर्देशन दिन अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभयो।
भिट्ठामोड सुख्खा बन्दरगाह निर्माण भएमा यस क्षेत्रको व्यापार तथा व्यवसायलाई उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ। स्थानीय उद्योगी व्यवसायीहरूले पनि यसलाई मधेसका लागि महत्वपूर्ण परियोजना मान्दै सरकारको थप पहल आवश्यक रहेको बताएका छन्।