काठमाडौं — नेपाली कांग्रेस मधेश प्रदेशमा सुरेन्द्रप्रसाद सिंहको कारण भाँडभैलो मच्चिएको छ। कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपनि पदमा कायम रहँदै आएकोले पार्टीका कार्यकर्ता र नेताहरू आक्रोशित बनेका छन्। उनलाई पार्टी नेतृत्वले दिइरहेको संरक्षणले मधेश प्रदेशमा अशान्ति फैलिएको छ।
सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको एक वर्ष बितिसक्दा पनि पदमा बसेकोले मधेशका कार्यकर्ताहरू नेतृत्वप्रति असन्तुष्ट बनेका छन्। पार्टी सभापति शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले सिंहलाई राजनीतिक संरक्षण दिइरहेको आरोप लागेको छ। अदालतबाट भ्रष्टाचारी प्रमाणित भएपनि नेतृत्वले सिंहसँग सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने, उनले प्रदान गर्ने गाडी, घोडा र अन्य सुखसुविधा उपयोग गर्ने गरेको छ। यसले गर्दा पार्टीभित्रै आक्रोश बढेको छ।
देउवा मधेश आउँदै, कार्यकर्ताहरूले सुरेन्द्र विषय उठाउने तयारी
पार्टी सभापति शेरबहादुर देउवा आज मधेश जाँदैछन्। भोलि हुने पार्टीका सहमहामन्त्री महेन्द्र यादवको छोराको विवाहमा सहभागी हुने उनी जनकपुर जाँदैछन्। पार्टी सभापतिको स्वागतमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू जनकपुरमा भेला भएका छन्। उनीहरूले सुरेन्द्र सिंहको विषयमा नेतृत्वसँग जोडदार रूपमा कुरा उठाउने तयारी गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको २०८० फागुन १५ गतेको संयुक्त इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। तर, राजनीतिक शक्तिको आडमा सिंहले अहिलेसम्म पद छाड्न नाकोटी गरेका छन्। विशेष अदालतले ९ महिना कैदको फैसला सुनाएपनि सर्वोच्च अदालतले ४ महिना १५ दिन कैद सजाय तोकेको छ।
लोकतन्त्र र कानूनको शासनको वकालत गर्ने कांग्रेसले किन बोकिरहेको भ्रष्टाचारी?
लोकतन्त्र, विधिको शासन र कानूनको राजको वकालत गर्ने नेपाली कांग्रेसले किन अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिलाई बोकिरहेको छ भन्ने विषय अहिले मधेशमा चर्चाको केन्द्र बनेको छ। कांग्रेसका आम नेता तथा कार्यकर्ताहरू पनि नेतृत्वले भ्रष्टाचारी नेतालाई संरक्षण दिइरहेकोमा आक्रोशित छन्।
सिंहमाथि सिसौको रुख कटान गर्दा ती रुख बेचेर रकम हिनामिना गरेको आरोप थियो। उनीसँग विशेष अदालतले सो मुद्दामा एक करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गरेको थियो। जुन सर्वोच्च अदालतले पनि सदर गरेको छ। अदालतबाट दोषी ठहर भएका सिंह कसको आडमा सर्लाही जिल्लाको पार्टी सभापतिमा कायम छन् भन्ने विषयमा पार्टीभित्रै प्रश्न उठिरहेका छन्।
देउवा दम्पत्ति र गगन थापाको संरक्षण
देउवा दम्पत्तिले सुरेन्द्र सिंहलाई संरक्षण दिइरहेको आरोप छ। उनीहरूले मात्र नभएर पार्टीका वरिष्ठ नेता गगन थापाले पनि सिंहलाई दरिलो साथ दिइरहेका छन्। थापाले सिंहसँग हार्दिक सम्बन्ध राखेका छन्। ०७९ को निर्वाचनमा थापाले सर्लाही ४ बाट निर्वाचन लड्ने चर्चा थियो, जसमा सिंहको सहयोग महत्त्वपूर्ण हुने बताइएको थियो।
देउवा दम्पत्तिको स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसँगको दुश्मनीमा सुरेन्द्रले सघाएको आरोप छ। सिंहसँग कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको पनि राम्रो सम्बन्ध नरहेको बताइन्छ।
कार्यकर्ताहरूको माग
मधेशका कांग्रेस कार्यकर्ताहरूले भ्रष्टाचारमा दोषी ठहर भएका नेतालाई तत्काल पदबाट हटाउन र पार्टीभित्र अनुशासन कायम गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्। उनीहरूले देउवा मधेश आउँदा यो विषयमा स्पष्ट जवाफ माग्ने तयारी गरेका छन्।
यसरी नै, कांग्रेस मधेशमा भ्रष्टाचारी नेतालाई बोकेको विषयले पार्टीभित्र ठूलो विवाद खडा गरेको छ। यसले पार्टीको छविमा पनि नकारात्मक प्रभाव पारेको छ। अब नेतृत्वले यस विषयमा कस्तो कदम चाल्छ, भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।