२०८१ फागुन २० गते, काठमाडौं। नेपाल चिकित्सक संघको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’को विमोचन गरिएको छ। नेपाल चिकित्सक संघको ७५ वर्ष पुरा हुने अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तकको विमोचन गरेका हुन्।
‘चिकित्सक नेतृत्व’ पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्ष र अरू महत्वपूर्ण पक्ष समावेश छन्। यस पुस्तकले नेपालको चिकित्सा क्षेत्रका ऐतिहासिक क्षणहरूलाई जीवित राख्दै चिकित्सक संघका योगदान र चुनौतीहरूको समीक्षा गर्दछ।
पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले नेपालमा दक्ष र विज्ञ चिकित्सकहरू उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य उपचारको थालनी हुनु खुशीको कुरा भएको बताएका छन्। उनले भने, “नेपालमा स्तरीय उपचार सेवाको अनुभव मैले आफैंले पनि प्राप्त गरेको छु। यो अत्यन्तै गर्वको विषय हो।”

तर, उनले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरूको अभाव भएकोमा चिन्ता व्यक्त गरे। पौडेलले थपे, “जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ। यसको परिणाम चिकित्सकहरू विदेश जाने क्रम बढ्नु चिन्ताको विषय हो।”
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले पुस्तकको विमोचनमा सम्बोधन गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरूको सम्मान र स्मरण दुवै उद्देश्यले संघले यो पुस्तक प्रकाशनको निर्णय गरेको जानकारी दिए। उनले भने, “यो पुस्तक चिकित्सकहरूको योगदान र संघको इतिहासलाई सम्मान जनाउनको लागि अत्यन्त महत्वपूर्ण छ।”
पुस्तकको सम्पादन पत्रकार प्रवीण ढकालले गरेका हुन्। सम्पादक ढकालले पुस्तक प्रकाशनको उद्देश्य मात्र संघको इतिहास प्रस्तुत गर्नु नभई नेपालको चिकित्सा इतिहासको संरक्षण पनि गर्ने बताए।
नेपाल चिकित्सक संघको स्थापना २००७ सालको फागुन २० गते भएको थियो, र यसले नेपालको पहिलो पेशागत संघको रूपमा इतिहास रचेको छ। संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित थिए।
यो पुस्तकले संघको ऐतिहासिक यात्रा र नेपालका प्रमुख चिकित्सकहरूको योगदानलाई उजागर गर्दै चिकित्सक समुदायको समृद्धि र भविष्यलाई थप उज्यालो बनाउने प्रयास गरेको छ।