पाइप फुट्दा थापाथलीको सडकमा खेर गयो मेलम्चीको ५ लाख लिटर पानी

melamchi pani

२० फागुन, काठमाडौं – थापाथली चोक नजिकको भित्रि सडकमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार पाइप फुटेको केही समयमै पाँच लाख लिटर पानी खेर गएको हो। पाइप फुटेको केही समयमै बन्द गर्न सफल भएकोले धेरै पानी खेर जान नपाएको केयुकेएलले जनाएको छ।

बिहान ५ बजे पाइप फुटेपछि त्यस क्षेत्रका केही पसलहरु डुबानमा परेका थिए। सडक र सडक पेटमा क्षति पुगेको थियो। सडकमा ढुंगा-माटो र गिट्टी थुप्रिएको थियो र सडकसमेत अवरुद्ध भएको थियो। प्रभावित क्षेत्रमा मर्मत तथा सरसफाइको काम पूरा भएको छ।

पाइप लाइन किन फुट्यो भन्ने पत्ता लगाउन केयुकेएलले अनुसन्धान थालेको छ। कालोपत्रे सडक नै फुटाएर पानी बाहिर आएकोले पानीको चापका कारण पाइप फुटेको अनुमान गरिएको केयुकेएलले जनाएको छ।

फुटेको पाइपलाइनको मर्मतका लागि खानेपानी मन्त्री प्रदिप यादवले मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयले जनाएका अनुसार, पाइपलाइन मर्मत कार्य साँझसम्म पूरा गरेर पुनः सञ्चालन गर्ने काम भइरहेको छ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। तर यसपटक, समस्या समाधान छिटो गरिएकोले कम पानी खेर गएको छ।

यो घटनाले खानेपानी आपूर्ति प्रणालीको महत्वपूर्ण पक्षमा ध्यान आकर्षित गराएको छ, र आगामी दिनहरूमा पाइपलाइनको मर्मत र व्यवस्थापनमा ध्यान दिइनेछ।

समन्धित समाचार